जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बिहिबार घोषणा गरेको आमहड्तालको क्रममा जनकपुरधाममा केहि शिर्ष नेतालाई प्रहरीले योजनावद्ध ढंगले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोप लगाइएको छ ।
शुक्रबार जनकपुरधाममा नेकपा धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता शत्रुधन महतोले प्रहरीले केहि नेतालाई हत्या गर्ने उद्देश्यले न्यून संख्यामा रहेका आन्दोलनकारीमाथि अन्धाधुन्ध गोली चलाएको र लाठी प्रहार गरेको आरोप लगाए । उनले हामी शान्तिपूर्ण ढंगले आन्दोलन गरिरहेको क्रममा प्रहरी एक्कासी जनकपुरधामको शिव चोकमा आएर सुनुयोजित ढंगले स्थायी समिति सदस्य मातृका प्रसाद यादव र नेता रामचन्द्र झालाई मार्ने प्रयास गरेको योजना अनुसार प्रहरीले फायरिंग गरेको बताए ।
संघीयता, धर्मनिर्पेक्षता, समावेशिता सहितका प्राप्त उपलब्धीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समाप्त पार्नका लागि असंवैधानिक कदम चालेको विरोधमा बाध्यतात्मकरुपमा बन्दको घोषणा गर्नुपरेको उनले स्पष्ट पारे । उनले भने,‘प्रहरीले योजनावद्धढंगले ढुंगामुढा सहित गोली, लाठी प्रदर्शनकारीमाथि बर्साउनु निन्दनीय हो र शिर्षनेताहरुलाई मार्ने उद्देश्यले प्रहरीले आतंक मचाएकाले यसको अनुसन्धानको समेत गर्दछु ।’
त्यस्तै केन्द्रिय सदस्य श्रवण बरबरियाले प्रहरीले न्यून संख्यामा रहेका प्रदर्शनकारीमाथि जवर्जस्तीरुपमा बलप्रयोग गरि योजनावद्ध ढंगले नेता रामचन्द्र र नेता मातृका माथि बर्बर दमन गरेको भन्दै भत्र्सना गरे । नेकपा धनुषाका संयोजक सुधिर साह र सहसंयोजक दिपक यादवले संयूक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा शान्तिपूर्णरुपमा बन्द सफल बनाउनका सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘हाम्रो शान्तिपूर्ण जुलुसमा प्रतिगामी सरकारको मतियार भएर पूर्वाग्रही रुपमा अकारण स्थानीय प्रहरी÷प्रशासनले ५० औँ राउण्ड गोली, अश्रुग्यास, लाठी प्रहार तथा ढुंगा प्रहार गर्दै हाम्रो केन्द्रिय नेताहरुलाई ज्यान मार्ने प्रायस गरेका छन् । सो गर्ने क्रममा दर्जनौँ कार्यकर्ताहरुलाई बन्दी बनाई पूर्वमन्त्री मातृकाप्रसाद यादव, पूर्वमन्त्री रामचन्द्र झा, शहिदनगर नगरपालिका प्रमुख उदयकुमार बरबरिया, कारीराम यादव, प्रदीप साहलाई गीम्भर घाइते बनाउनुको साथै दर्जनौँ भन्दा बढीलाई घाइते बनाएको छ । प्रशासनको उक्त कार्यको घोर भत्र्सना गर्दछौँ । साथै सम्बन्धित निकायले कडाकारवाही गरोस् भन्ने जोडदार माग गर्दछौँ ।’
प्रतिक्रिया