काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूल पार्टी आफ्नो नेतृत्वको पार्टी रहेको बताएका छन् ।
ओली समूहले शुक्रबार काठमाण्डौस्थित नारायणहिटी दरबारअगाडि गरेको जनसभामा बोल्दै उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी भएको बताए । नेकपा स्वाधीनता र देशको भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी पनि भएको उनले बताए ।
कुन पार्टी मुल पार्टी, कुन सक्कली कुन नक्कली, कुन सही कुन गलतको टुंगो लागेको उनले बताए । कम्युनिष्ट आन्दोलन अगाडि बढाउने र विकासको मुल फुटाउने पार्टी यही हो, उनले भने । ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने समेत बताए । आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उनले बताए ।
उनले भने,‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।’ उनले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए । २/४ हजार मान्छे जम्मा गरेर को हो मुल पार्टी भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नु परेको ओलीले बताए ।
उनले प्रतिप्रश्न गर्दै भने,‘ओलीले राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले । जो केपी ओली आधा दशकभन्दा बढी समय गणतन्त्रका लागि लड्यो । लोकतन्त्रका लागि लड्यो । आधाभन्दा बढी समय समानता र न्यायका लागि लड्यो। त्यो केपी ओलीले राजतन्त्रले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ?’
प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी समेत दिए । उनले भने,‘हिजो नेपाल बन्द गरेर, किसानहरुका उत्पादन सडकमा पोखेर र गरिबको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजियो । अब नरभक्षी आन्दोलन गर्ने दिन गए । अब नेपाल अशान्ति र हिंसामा जान सक्दैन ।’
तराईमा हुने डुबान भारतसँग कुरा गरेर हटाएको दावी गर्दै उनले हुलाकी राजमार्ग निर्माणको काम लगभग सम्पन्न भईसकेको बताए । पूर्वपश्चिम रेलमार्ग बनाउने र पूर्वपश्चिम राजमार्गलाई चौंडा बनाउने काम काम भइरहेको भन्दै उनले केही दिनभित्रै रेल चल्ने भन्दै भारतसँग रक्सौल काठमाडौं रेलमार्गको लागि सम्झौता भएर डीपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको पनि बताए ।
प्रतिक्रिया