ताजा समाचार


सप्तरी र सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

द रियल समाचार     २०७७ माघ २३, शुक्रबार, ११: ०० मा प्रकाशित




जनकपुरधाम । सप्तरी र सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर- ६ कठौनास्थित पूर्वपश्चिम राजमार्गमा बिहिबार राती कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.२ ज. ४०४७ नम्बरको कारले स. १० प. २७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा सप्तरीको कृष्णसवरन गाउँपालिका-१ का ६५ वर्षीय बहुरी चौधरीको मृत्यु भएको हो ।

चौधरीको धरानस्थित घोपा क्याम्पमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कार र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका-१ बहादुरपुरस्थित नेपाल-भारत सीमा नजिकै ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३०आर ७१५४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३०जीए ०७९६ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सर्लाहीको बरहथवा नगरपालिका-१३ विन्वा टोल बस्ने ४९ वर्षीय इन्द्रासनदेवी यादवको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मृतकका छोरा २३ वर्षीय रुपेश राय गम्भीर घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top