जनकपुरधाम । नेपाल पत्रकार महासंघ प्रदेश २ कार्यसमितिले विधान विपरित नयाँ सदस्यता र नवीकरणका लागि गरेको सिफारिसप्रति मधेशी पत्रकार समाज नेपाल प्रदेश २ ले आपति जनाएको छ ।
बिहीबार समाजका प्रदेश अध्यक्ष विरेन्द्र रमणले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ प्रादेशिक समितिले विधान विपरित नयाँ सदस्यता तथा नवीकरणका लागि गरेको सिफारिसप्रति हाम्रो ध्यानाकर्षण भएको जनाएका छन् ।
अध्यक्ष र सचिव सहित महासंघमा आबद्ध प्रादेशिक समितिका पदाधिकारीहरुले विधान मिचेर जिल्ला कार्यसमितिको क्षेत्राधिकारलाई अवमूल्यन गरी नयाँ सदस्यता र नवीकरणका लागि गरेकोमा समाजको आपति रहेको विज्ञप्तिमा भनिएको छ । महासंघको प्रादेशिक समितिले पत्रकारिता क्षेत्रमा रहेका क्रियाशील व्यक्ति सदस्यताबाट वंचित गर्दै निहित आस्थाका आधारमा तथा परिवार र नातावादलाई मलजल गर्दै अपारदर्शी कार्य गर्नु गलत रहेको ठहर समाजले गरेको छ ।
शाखामा आवेदन नै नदिएकाहरुलाई पनि दलगत आधारमा क्षेत्राधिकार बाहिर गएर प्रदेशका अध्यक्षले तिनीहरुलाई सदस्यता र नवीकारणका लागि सिफारिस गरेको तर हाम्रो संस्थासंग आस्था राख्ने क्रियाशील संचारकर्मीहरुलाई सदस्यता र नवीकरणबाट वञ्चित गराउने कार्य गलत रहेको अध्यक्ष रमणले बताएका छन ।
उनले नेपाल पत्रकार महासंघको विधान २०६० को चौथो संशोधन २०७३ को परिच्छेद ४ को दफा १८ को उपदफा २ (छ) मा सदस्यता सम्बन्धि निर्णयको अनुमोदन गर्ने, आवश्यक सुनुवाई गरी टुङ्गो लगाउने प्रष्ट प्रावधान हुँदाहुँदै पनि शाखा सँग कुनै किसिम पत्राचार र छलफलै नगरी विपरित आवेदन लिई नयाँ सदस्यता र नवीकरणको सिफारिस गर्नु गलत रहेको बताए ।
अध्यक्ष रमणले विधान विपरित गरिएको त्रुटिपुर्ण सिफारिस अविलम्ब सच्याउन मांग गर्दछौ, अन्यथा उत्पन्न हुने परिस्थतिको जिम्मेवार महासंघको प्रादेशिक हुने चेतावनी समेत विज्ञप्ति मार्फत दिएका छन ।
प्रतिक्रिया