जनकपुरधाम । प्रदेश नम्बर २ मा बिहिबारसम्म २२ हजार २ सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रदेशको ८ वटै जिल्लाको ९ केन्द्र र १४ बुथबाट माघ १४ गतेदेखि सुरु गरिएको कोरोनाविरुद्धको खोप अभियानको नवौं दिन बिहिबारसम्म २२ हजार २ सय २८ जनाले खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप मध्ये संघिय सरकारले प्रदेश २ सरकारलाई ३४ हजार ८०४ डोज खोप पठाएको थियो ।
कुन जिल्लामा कतिजनालाई खोप लगाइयो ?
प्रदेश सरकारले बिहिबारसम्म पर्सामा ४ हजार ७४७, धनुषामा ३ हजार ५०३, सिरहामा २ हजार ८२७, सप्तरीमा २ हजार ७५४, सर्लाहीमा २ हजार ५०२, महोत्तरीमा २ हजार १३८, रौतहटमा २ हजार ११० र बारामा १ हजार ६४७ जनालाई कोरोनाबिरुद्धको खोप लगाईसकिएको निमित्त निर्देशक झाले बताए ।
कुन जिल्लामा कति डोज खोप ?
प्रदेश सरकारले सबभन्दा बढि धनुषामा ९ हजार १ सय ८२, पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप उपलब्ध गराएको छ ।
पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सरसफाइकर्मीलाई लगाइँदै छ ।
प्रतिक्रिया