ताजा समाचार


गम्भीर घाइते नेता झा सहित ४ जनालाई थप उपचारका लागि काठमाण्डौ लगियो

द रियल समाचार     २०७७ माघ २२, बिहीबार, १७: ५५ मा प्रकाशित




जनकपुरधाम । बिहिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूले आह्वान गरेको देशव्यापी आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा परि गम्भीर घाइते भएका नेकपाका केन्द्रिय सदस्य रामचन्द्र झा सहित ४ जनालाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका नेकपाका केन्द्रिय सदस्य रामचन्द्र झा, स्याथी समिति सदस्य मातृकाप्रसाद यादव, शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादव र नेकपा नेता प्रदिप साहलाई थप उपचारका लागि काठमाण्डौ लगिएको हो ।

प्रादेशिक अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएपछि उनीहरु आफ्नो हिसाबले थप उपचारका लागि काठमाण्डौ गएको प्रादेशिक अस्पतालका मेसु डा.प्रमोद यादवले बताए । उनका अनुसार सबभन्दा बढि चोट नेकपा नेता प्रदिप साहलाई लागेको छ । साहको टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ । त्यस्तै, झाको टाउको र पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ भने नगरप्रमुख बरबरियाको समेत टाउकोमा चोट देखिएको छ । घाइतेहरुलाई थप उपचारका लागि साँझ साढे ५ बजे बुद्ध एयरको फ्याइटबाट काठमाण्डौस्थित टिचिङ्ग अस्पतालमा लगिएको संघर्ष समिति धनुषाका संयोजक सुधिर साहले जानकारी दिए ।

प्रहरीसँगको झडपमा विदेह नगरपालिका वडा नम्बर–४ बस्ने ३६ वर्षीय मावि ठाडीका विद्यालय व्यवस्थापन समिति सदस्य शिवकुमार गोइत, शहीदनगर नगरपालिका वडा नम्बर–५ बस्ने अखिल महासंघका जिल्ला अध्यक्ष ४३ वर्षीय सुरेश कापर, सबैला नगरपालिका वडा नम्बर–२ बस्ने नेकपाका जिल्ला कमिटी सदस्य ५२ वर्षीय कारीराम यादव, शहीदनगर नगरपालिका वडा नम्बर–८ बस्ने संघर्ष समितिका संयोजक ३० वर्षीय रुपेश विराजी, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ बस्ने नेकपाका नगर कमिटी अध्यक्ष ५० वर्षीय उमेश कुमार साह, विदेह नगरपालिका वडा नम्बर–१ बस्ने संघर्ष समितिका संयोजक २९ वर्षीय रञ्जित पाण्डे, शहीदनगर नगरपालिका वडा नम्बर–६ बस्ने युवा संघका जिल्ला सदस्य २८ वर्षीय अपराजय मण्डल, शहीदनगर नगरपालिका वडा नम्बर–६ बस्ने ३० वर्षीय सुभाष मण्डल र शहीदनगर नगरपालिका वडा नम्बर–८ बस्ने ५० वर्षीय विरजु विराजीलगायतका नेता कार्यकर्ताहरु समेत घाइते भएका छन् ।

त्यस्तै प्रदर्शनकारीहरुले प्रहार गर्दा प्रहरी जवान लालबाबु राय र प्रहरी नायव निरिक्षक नागेन्द्र यादव समेत घाइते भएका छन् । बजार बन्द गराउन जनकपुरधामको शिवचोक पुगेका नेता कार्यकर्ताहरुलाई प्रहरीले अवरोध सिर्जना गरेपछि झडप भएको थियो । सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट प्रदर्शनकारीहरु घाइते भएका छन् ।

झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता प्रहरीले दाहाल–नेपाल समुहका दर्जनौं कार्यकर्तालाई पक्राउ समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top