जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको एकदिने आमहड्तालको क्रममा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
झडपमा परि नेकपा दाहाल–नेपाल समूहका केन्द्रिय सदस्य पूर्वमन्त्री रामचन्द्र झा, पूर्वमन्त्री मातृका प्रसाद यादव, शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया सहित १५ जना घाइते भएका छन् ।
अन्य घाइते हुनेहरुमा विदेह नगरपालिका वडा नम्बर–४ बस्ने ३६ वर्षीय मावि ठाडीका विद्यालय व्यवस्थापन समिति सदस्य शिवकुमार गोइत, शहीदनगर नगरपालिका वडा नम्बर–५ बस्ने अखिल महासंघका जिल्ला अध्यक्ष ४३ वर्षीय सुरेश कापर, सबैला नगरपालिका वडा नम्बर–२ बस्ने नेकपाका जिल्ला कमिटी सदस्य ५२ वर्षीय कारीराम यादव, हंसपुर नगरपालिका वडा नम्बर–४ बस्ने ३० वर्षीय प्रदीप साह, शहीदनगर नगरपालिका वडा नम्बर–८ बस्ने संघर्ष समितिका संयोजक ३० वर्षीय रुपेश विराजी, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ बस्ने नेकपाका नगर कमिटि अध्यक्ष ५० वर्षीय उमेश कुमार साह, विदेह नगरपालिका वडा नम्बर–१ बस्ने संघर्ष समितिका संयोजक २९ वर्षीय रञ्जित पाण्डे, शहीदनगर नगरपालिका वडा नम्बर–६ बस्ने युवा संघका जिल्ला सदस्य २८ वर्षीय अपराजय मण्डल, शहीदनगर नगरपालिका वडा नम्बर–६ बस्ने ३० वर्षीय सुभाष मण्डल र शहीदनगर नगरपालिका वडा नम्बर–८ बस्ने ५० वर्षीय विरजु विराजी रहेका छन् ।
त्यस्तै प्रदर्शनकारीहरुले प्रहार गर्दा प्रहरी जवान लालबाबु राय र प्रहरी नायव निरिक्षक नागेन्द्र यादव समेत घाइते भएका छन् । घाइते सबैजनाको टाउकोमा चोट लागेको छ भने पूर्वमन्त्री रामचन्द्र झालाई टाउकोमा ६ वटा टाँका लगाइएको चिकित्सकले जनाएका छन् ।
बजार बन्द गराउन जनकपुरधामको शिवचोक पुगेका नेता कार्यकर्ताहरुलाई प्रहरीले अवरोध सिर्जना गरेपछि झडप भएको थियो । सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट प्रदर्शनकारीहरु घाइते भएका छन् । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता प्रहरीले दाहाल–नेपाल समुहका दर्जनौं कार्यकर्तालाई पक्राउ समेत गरेको छ ।
बन्दको क्रममा सो समुहका कार्यकर्ताहरुले ना.१ क.५१२ नम्बरको प्रहरीको भ्यान र ज.१ च.१५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड समेत गरेका छन् ।
प्रतिक्रिया