जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा असंवैधानिक नियुक्ति गरेको विरोधमा दाहाल-नेपाल समूहले आज एकदिने आमहड्ताल गरेको छ ।
आमहड्तालको प्रभाव प्रदेश २ मा फाटफूट रूपमा परेको देखिएको छ । कुनै ठाउँमा समान्य प्रभाव परेको छ भने कुनै कुनै जिल्ला तथा शहरहरू पुरापुरी ठप्प भएको छ । बर्दिबास, वीरगन्ज, लालबन्दी, हरिवन लगायतका ठाउँमा बिहानैदेखि बजार तथा पसलहरु खुलेका छैनन् भने लामो दुरीका सार्वजनिक सवारी साधन ठप्प छ ।
यसैबीच, वीरगन्जमा बन्द गराउँदै हिंडेका दाहाल-नेपाल समूहका डेढ दर्जनभन्दा बढि नेता कार्यकर्ता पक्राउ परेका छन् । घण्टाघर र माइस्थान चोकबाट प्रहरीले नेकपाका वीरगन्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारी, युवा नेताहरु मनोज चौधरी, अरविन्द सिंह,अरुण यादव, प्रभाकर गुप्ता, शीवम साहलगायत १७ जनालाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले जानकारी दिए ।
उत, दाहाल-नेपाल समूहले आह्वान गरेको आमहड्तालको असर चितवनमा पनि परेको छ । चितवनको पुल्चोकमा जम्मा भएका नेता कार्यकर्ताले अत्यावश्यक सवारी साधन वाहेक अन्य सवै ठप्प पारेका छन् । कडा रुपमा सुरक्षा व्यवस्था रहेको पुल्चोकमा बन्दकर्ताहरुले असवैधानिक कदम खारेज गर्न र संविधानलाई सहि मार्गमा ल्याउन बन्द गर्नुपरेको बताएका छन् ।
नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारले संविधान विपरीत सवैधानिक परिषदका आयोगहरुमा गरिएको नियुक्ति र संसद विघटन फिर्ता हुनुपर्ने मुख्य माग सहित सडकमा आएको बताउँदै बन्दबाट पर्न गएको समस्याप्रति क्षमा माग्दै आज एक दिन सहेरै भएपनि संविधानलाई बचाउने आन्दोलनमा सहयोग गर्न आह्वान गर्नुभयो ।
पुल्चोकमा नेकपाकी केन्द्रीय सदस्य एवम भरतपुर महानगरप्रमुख रेनु दाहाल, प्रदेश सभा सदस्य घनश्याम दाहाल लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको छ ।
चितवनमा सो समूहले ५ वटा गाडीमा समेत तोडफोड गरेको छ। नेपाल बन्दकाे दिनमा सवारी साधन सञ्चालन गरेकाे भन्दै उक्त समूहले गाडी तोडफोड गरेको हो। रामनगरको भतेरी जङ्गल, आँपटारी, मिलन चोक र आस्था चोकमा गरि ५ वटा गाडी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिए। उनकानुसार माेटरसाइकलमा अाएका केही व्यक्तिहरुले गाडीमा ढुङ्गा हानेर सिसा फुटाइ भागेका थिए ।
त्यस्तै,संवैधानिक निकायहरुमा नेपाल सरकारको सिफारिसमा राष्ट्पतिले गरेको नियुक्तीलाई बल मिचाइको संज्ञा दिदै आमहड्तालको घोषणा गरेको दाहाल-नेपाल समुहको बन्दका कारण सुनसरीमा पनि असर परेको छ ।
बन्दका कारण लामो दुरीका सवारीका साधन , शैक्षिक संस्था , कलकारखाना सञ्चालन हुन सकेका छैनन भने सुनसरीमा पुर्वपश्चिम राजमार्ग खण्ड अन्तर्गत पकली र झुम्कामा बन्दकर्ताहरु चार चक्के सवारी साधनहरुको आवागमन रोकिरहेका छन । बजार पसलहरु फाटफुट रुपमा खुलेका छन । जिल्लाका अन्य स्थानमा पनि बन्दको प्रभाव सामान्य रुपमा परेको छ । कतिपय स्थानमा वन्दकर्ता नदेखिएका कारण बजार पसल निर्वाध रुपमा सञ्चालन भईरहेका छन ।
सुनसरी प्रमुख बजारक्षेत्र इटहरीमा भने बन्दको प्रभाव नगन्य रुपमा देखिएको छ । इटहरी क्षेमा साना सवारी साधन , बजार पसल यो समाचार तयार पार्दासम्म सञ्चालन भईरहेका छन । विराटनगरमा भने दाहाल-नेपाल समूहका चार जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया