ताजा समाचार


अन्याय अत्याचार बिरुद्ध लड्ने कि ?

द रियल समाचार     २०७७ माघ २२, बिहीबार, १२: १९ मा प्रकाशित




हिंसा पक्कै पनि सुनेको शब्द हो । हैन् र ? पक्कैपनि यो शब्द हाम्रो लागि नयाँ होईन् । प्रायः मान्छे कसै न कसैसँग कुनै माध्यमबाट हिंसाको शिकार भएकै हुन्छ ।

यो आजदेखि होईन्, युगौं युगदेखि एउटा परम्परा जस्तै चल्दै आएको छ । हुनत हिंसाको शिकार महिला र पुरुष दुबै हुन्छन् । तर खास गरेर हिंसाको सामना महिलालाई पुरुषको तुलनामा बढि नै गर्नु परिरहेको हुन्छ । हिंसाको धेरै रुप हुनसक्छ । शारीरिक हिंसा, यौनिक वा लैङ्गिक हिंसा, मौखिक वा भावनात्मक हिंसा, आर्थिक हिंसा । तर यसको जति रुप भएपनि यसले दिने भनेको एउटा कुरा मात्र हो । त्यो हो पीडा ।

खासगरी महिलासँग प्रायः घरेलु हिंसा बढि हुन्छ । शारीरिक दुर्व्यवहार, स्वास्थ्यको खतरा,लैङ्गिक दुर्व्यवहार, महिलाको गरिमाको उल्लंघन, अपमान, बहिस्कार, तिरस्कार, अतिक्रमण, आर्थिक दुर्व्यवहार, मांसिक समस्या दिनु सबै घरेलु हिंसा नै हो र हरेक दिन महिलाले यसको सामना गर्नु नै परिरहेको हुन्छ ।

कहिं पुरुषले महिलामाथि त कहिं महिलाले नै महिलामाथि हिंसा गर्छन् । हिंसालाई बढाबा दिने काम पनि हामी महिलाले नै गरिरहेका हुन्छौं । आफुमाथि हिंसा भयो भने प्रायः महिला चुप लाग्छन् र सहन खोज्छन् । श्रीमान् बिरुद्ध कसरी जाने । श्रीमान् नै त हो माया लाग्छ । सासू ससुरा नै हो । वहाँहरुको बिरुद्ध गयो भने समाजले के भन्ला भन्ने डरले झन वहाँहरुलाई नै बढाबा भेट्छ ।

श्रीमानलाई जेल पुर्यायो भने बच्चाहरुको के हुन्छ ? कहाँबाट कमाउने र के खाने जस्ता कुराले समेत हामीलाई चुप बस्न बाध्य बनाउँछ । त्यसमा पनि सबभन्दा ठुलो समस्या भन्नुपर्यो भने ठुलो दोषी हाम्रो आमाबुवा । किनभने वहाँले सानैदेखि सहेर बस, छोरी हो मर्यादामा बस्नुपर्छ । तँ पराया धन होस भनि हाम्रो मानसपलटमा यो कुरा हरेक क्षणमा दिईरहेका हुन्छन् र यसले हामीलाई कमजोर,असहाय बनाउँदै जान्छ ।

जबकि कानूनले पनि महिलालाई यतिसम्म अधिकार दिएको छ कि जब एउटी श्रीमतिको ईच्छा हुँदैन् भने उसको श्रीमानले पनि उसलाई छुन पाउँदैन् । जबर्जस्ती गर्न खोज्यो भने त्यो पनि बलात्कार सरह नै हुन्छ र एउटा बलात्कारीले पाउने सजाय त्यो पुरुषले पनि पाउन सक्छ । तरपनि हामी यति कमजोर आफूलाई बनाएको हुन्छौं कि आफूलाई मन नपर्ने काम वा केहि होस्,प्रतिकार गर्न सकिरहेको हुँदैनौं । गीतामा पनि भनिएको छ, अत्याचार गर्ने भन्दा बढि दोषी अत्याचार सहने व्यक्ति हो ।

हामीलाई हिंसाको प्रतिकार गर्नुका साथै हिंसामाथि रोक लगाउन अगाडी बढ्नु जरुरी छ । आज हामी समाजको डर, पारिवारिक बन्धन, आफन्तको कारण लगायतका कारणहरूले चुप लागेर सहेर बसिहाल्छौं भने भोलीका दिनमा यही सिको आफ्नो छोरीलाई दिन्छौं र पछि उ पनि हिंसा सहेर बस्न थाल्दछ ।

त्यहि भएर आजै अहिलेदेखि नै यसको प्रतिकार गरौं । कहिंपनि कसैसँग कुनै किसिमको हिंसा भईरहेको छ भने खुलेर अगाडी आएर बोलौँ । हुन सक्छ परिवार, माईत, समाजले साथ नदेला । हामीदेखि रिसाउँला । तर भोली गएर फेरि त्यहि परिवार र समाज हाम्रो साथ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top