जनकपुरधाम । दाहाल-नेपाल समुहले घोषणा गरेको एकदिने आमहड्तालको जनकपुरधाममा सामान्य प्रभाव परेको छ ।
केहि शैक्षिक संस्था, बजार तथा छोटो दुरीका सवारीसाधनहरु निर्वाध रुपमा चलिरहेको छ भने सार्वजनिक यातायातहरु बन्द रहेको छ ।
दाहाल-नेपाल समुहका कार्यकर्ताको टोली बजारमा आएर पसल बन्द गराएपनि उनीहरु गइसकेपछि व्यवसायीहरुले पुनः आ-आफ्नो पसल खोलिरहेका छन् ।
बजार बन्द गराउने क्रममा शिवचोकमा प्रहरी र दाहाल-नेपाल समुहका कार्यकर्ताबिच सामान्य विवाद समेत भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले जनकपुरधाम सहित धनुषाको अवस्था सामान्य रहेको बताए । उनले बन्दकर्ताहरुले शान्तिपूर्ण रुपमा विरोध गरिरहेकोले कसैलाई अहिलेसम्म नियन्त्रणमा नलिइएको बताए ।
बन्दको कारण हुनसक्ने सम्भावित घटनलाई रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादापोशाकमा समेत प्रहरीको टोली चोकचोकमा खटाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरेको पदपुर्ती असंवैधानिक रहेको भन्दै नेकपाको दाहाल-नेपाल समूहले आज आमहड्तालको घोषणा गरेको छ ।
तस्बिरहरु : राजा झा
प्रतिक्रिया