ताजा समाचार


विकास निर्माणमा स्थानीयतहको कुनै भूमिका छैन् : मुख्यमन्त्री राउत

द रियल समाचार     २०७७ माघ २१, बुधबार, २२: १८ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणमा स्थानीय तहको कुनै भूमिका नरहेको बताएका छन् ।

बुधवार प्रदेशसभाको तेश्रो वार्षिकोत्सव समारोहमा बोल्दै मुख्यमन्त्री राउतले स्थानीय तहका जनप्रतिनिधिले कुनै विकासको काम गर्न नसकेको आरोप लगाए ।

उनले भने,’गाउँ नगर जहाँपनि जानुस, जति पनि सडकको पीसीसी ढलान, मठ मन्दिर, विद्यालयको विकास निर्माण तथा पोखरी सौन्दर्यीकरण लगायतका कामहरु भएको छ, त्यो सबै प्रदेश सरकारले गरेको हो।’

प्रदेश भित्रका प्रायः जसो कालोपत्रे सडक र पुल पुलेसा प्रदेश सरकारले नै बनाएको छ,उनले भने,’संघीय सरकार र स्थानीय तहको भूमिका निरिह देखिएको छ । हामीले विकासको काम गरेपनि केहीले कामै नगरेको आरोप प्रत्यारोप लगाउँदै आएका छन् ।’

प्रदेश सरकारले ३ वर्षमा कानून निर्माण देखि विकास निर्माणमा ठूलो फड्को मारेको दाबी गर्दै उनले आउँदो १५ वर्षसम्मका लागि चाहिने सम्पूर्ण विकास निर्माणका कामहरु आफ्नो कार्यकालमा सम्पन्न गरिसक्ने बताए ।

राजनीतिक प्रसङ्गको चर्चा गर्दै मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई संकेत गर्दै भने,’ कुनै एक सन्की व्यक्तिको सन्कीपनाको कारण मुलुक र संविधानलाई हामी समाप्त हुने दिनेवाला छैनौं । हजारौ जनताको बलिदानी र मधेश आन्दोलन सहित विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धी संविधानको जगमा बनेको संघीयतालाई एक सन्की व्यक्ति समाप्त पार्नमा लागेको छ । तर हामी संघीयतालाई जोगाउन संघर्ष जारी राख्ने छौं ।’

केही राजनीतिक दलपनि चुनावको अवसरमा छन,आँप झरेपछि खाउँला जस्तै तर त्यो तिनको दिवास्वपन हो कुनै जरुरी छैन सबै सीट तिनलाई भेटनेछ । हामी चुनावबाट डराउँदैनौं, हामी लोकतान्त्रिक पार्टी हौं तर संविधानलाई कसैलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि मिच्न दिदैनौं,उनले भने ।

मुख्यमन्त्री राउतले लोकतान्त्रिक शक्तिहरु एकजुट भए एक घण्टामै त्यस्ता सन्की व्यक्तिलाई उखालेर फाल्न सकिने जिकिर गरे । उनले मुलुक र संघीयतालाई जोगाउन जसपाको आन्दोलनलाई सबै लोकतान्त्रिक शक्तिले सहयोग पुर्याउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख तिलक परियारले प्रदेश २ अन्य प्रदेशको तुलनामा नमूना बन्ने गरी सांसदहरु काम गरोस भन्ने आफ्नो चाहना रहेको बताए ।

संघीयता ल्याउनमा यस प्रदेशका आम जनताको प्रमुख भूमिका रहेकोले जनताको भावना अनुरुप नै यहाँका सरकार र सांसदहरुले काम गर्दै गए देशकै नमूना प्रदेश बन्ने प्रदेश प्रमुख परियारले विश्वास व्यक्त गरे ।

समारोहमा सभामुख सरोज कुमार यादवले उपभोक्ता समितिहरुको भुक्तानी अहिलेसम्म नभएकोप्रति आक्रोश व्यक्त गर्दै ७ दिन भित्र भुक्तानी नगरिए प्रदेशसभाको अवहेलना मुद्दामा मन्त्री तथा कर्मचारीहरुलाई जेल हाल्ने चेतावनी दिए ।

उनले भने,‘मेरै संयोजकत्वमा संसदीय विशेष छानविन समिति बन्यो र भुक्तानीको निर्णय गरियो तर अझै कार्यान्वयन भएको छैन्,सम्मानित सदन भनिएपनि व्यवहार खोई त ? ।’ अब पनि भुक्तानी नभए आफु चुप लागेर नबस्ने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top