ताजा समाचार


प्रदेश २ : नाम र राजधानीको बिषयमा प्रदेशसभा सदस्यहरुद्वारा एकअर्कामाथि दोषारोपण

द रियल समाचार     २०७७ माघ २१, बुधबार, १६: १८ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाले ३ वर्ष पूरा गरेको छ । प्रदेशसभाको वार्षिकोत्सव मनाइरहँदा सत्तापक्ष र विपक्षी दलका नेताहरुले प्रदेशसभाको ३ वर्षको अवधि उपलब्धिमूलक रहेको दावी गरेका छन् ।

३ वर्षको अवधिमा दर्जनौँ कानूनहरुको निर्माण, बाँकी कानूनहरुको निर्माण प्रक्रिया पाइपलाइनमा हुनु ठूलो उपलब्धि नै रहेको प्रदेशसभा सदस्यहरुले प्रतिक्रिया दिएका छन् । प्रदेशका प्रदेशसभा सदस्यहरु ३ वर्षको अवधि उपलब्धिमूलक रहेको दावी गरिरहँदा सभामुख सरोज कुमार यादवले प्रदेशसभा सञ्चालनमा दलहरुको सामन्जस्यताका कारण सहज भएको बताए । उनले ३ वर्षको अवधिमा कहिल्यै पनि सभा सञ्चालन गर्न असहजता अनुभव नभएको बताउँदै भने,‘३ वर्षमा सहजतापूर्वक नै सभा सञ्चालन गरियो तर नाम र राजधानी नतोकिदा अलिक दुःख लागेको छ ।’

सभामुख यादवले प्रदेशको नाम र राजधानीका लागि आफूले नै पहल गरेर एक पटक प्रयास गरेको र सोही अनुरुप मतदान भएपनि त्यो प्रयास सफल हुन नसकेको बताए । यद्यपि अर्को अधिवेशन शुरु भएलगत्तै सबै दलसँग समन्वय गरेर नाम र राजधानी तोक्ने कार्य अगाडी बढाइने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली काँग्रेसका संसदिय दलका नेता रामसरोज यादवले समेत प्रदेशसभाको ३ वर्षको अवधिलाई सफल नै मान्नुपर्ने बताए । उनले विपक्षी दलहरुको रचनात्मक सहयोगका कारण प्रदेशसभाबाट दर्जनौँ कानूनहरुको निर्माण गर्न सरकारलाई सहज भएको दावी गरे । प्रदेशको नाम र राजधानी सत्तापक्षकै हठीपनाका कारण तयन हुन नसकेको दावी गर्दै नेता यादवले अब उनीहरुले कमसेकम राजधानी तोक्न एकमत बनाइसकेको जानकारी दिए । नाममा भने अझै दलहरु बिच मतभिन्नता रहेको उनको भनाई थियो ।

उनले भने,‘हामी यो प्रदेशको २ समृद्ध संस्कृति मैथिली र भोजपुरीलाई जोडेर मिथिला भोजपुरा राख्नुपर्ने माग गरिरहेका छौँ, जबकि सत्तापक्ष मधेश प्रदेश हुनुपर्ने अडान लिएकाले आफूहरुलाई सो मान्य नभएको बताए । जुन माग लिएर मधेशीहरु सहीद भए अर्थात २२ जिल्लाको एक प्रदेश भएको भए हामीलाई मधेश प्रदेश बनाउनुपर्नेमा विमति हुने थिएन तर त्यस्तो नभएको र यो प्रदेश मिथिला संस्कृति भरिपूर्ण रहेकोले मिथिला भोजपुरा नै हुनुपर्ने हाम्रो अडान छ ।’

नेकपाका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले प्रदेशसभाको ३ वर्षको अवधि संतोषजनक रहेपनि सरकारले विजनेश समयमै दिन नसक्दा सोचे अनुरुप काम हुन नसकेको बताए । उनले भने,‘प्रदेशसभालाई गतिलो बनाउने काम प्रदेश सरकारकै हो तर त्यसमा प्रदेश सरकार चुकेकै हो ।’ विश्वकर्माले नाम र राजधानीको विषयमा निक्र्यौल नलाग्नुमा समेत सरकार नै दोषी रहेको आरोप लगाए । सरकारले यसका लागि जसरी सहकार्य र लचकता अपनाउनु पथ्र्यो त्यो गर्न नसकेको उनको आरोप थियो ।

नेपाली काँग्रेसका सचेतक उपेन्द्र कुशवाहाले प्रदेशसभाबाट भएका कयौँ निर्णयहरु आफूहरुसंग समन्वय नै नगरिएकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले नाम र राजधानी नतोकिनुको मुख्य कारण मुख्यमन्त्री तथा मन्त्रीहरुकै चलखेल रहेको बताए । नेकपाका शत्रुध्न महतोले समेत प्रदेशसभाको कामकारबाहीको प्रशंसा गर्दै नाम र राजधानी तोक्न सत्ताधारी दललै सहमतिको वातावरण निर्माण गर्नुपर्ने तर्क प्रस्तुत गरे । उनले नेकपा पार्टीको आन्तरिक कलहले प्रदेशसभाको कामकारवाहीमा कुनै प्रकारको प्रभाव नपर्ने बताए । उनले भने,‘हाम्रो पार्टी भित्रको कलहले प्रदेशसभाको काममा कुनै प्रभाव पर्दैन बरु हामी रचनात्मक सहयोग गर्न सदैव तत्पर छौँ ।’

विपक्षी दलका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम र राजधानीको सवालमा सरकारलाई दोषी ठहराई रहेको बेला सत्ता पक्षका प्रदेशसभा सदस्यहरु यो आरोप निराधार रहेको बताउँछन् । जसपाका प्रदेशसभा सदस्य शैलेन्द्र कुमार यादवले नाम र राजधानी तोक्न प्रदेश सरकारले सबै दलसँग समन्वयको प्रयास गरेपनि दलहरुकै अडानका कारण तय हुन नसकेको स्पष्ट पारे ।

यता अर्का प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले दुई तिहाई बहुमत भएको भए आजको आजै नाम र राजधानी हामीले तोक्ने थियौँ । तर अन्य दलहरुसँग सहमति गर्नुपर्ने बाध्यताका कारण अहिलेसम्म त्यो निक्र्यौल लाग्न नसकेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top