जनकपुरधाम । प्रदेश २ को नीति तथा योजना आयोगले प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक गरेको छ ।
आयोगले पहिलो आवधिक योजना पुस्तकका साथै ‘नेपाल प्रोभिन्सियल प्लानिङ्ग बेसलाईन एण्ड स्ट्रेटेजिक अप्सन फर प्रोभिन्स २’ नामक पुस्तक समेत सार्वजनिक गरेको हो ।
आयोगले मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले दूबै पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको अबको लक्ष्य प्रदेश गौरवका आयोजनाहरुको छनौट गरी प्रदेशको विकास तर्फ ध्यान पुर्याउनु रहेको बताए । उनले पहिलो आवधिक योजनाले प्रदेशमा अगामी पाँच वर्ष भित्र गर्नु पर्ने विकासको लक्ष्य निर्धारण गर्नुका साथै अगामी दिनमा प्रदेश सरकारले गर्ने कामहरुको विस्तृत विवरण समेटिएकोले अगामी दिनको नीति तथा कार्यक्रम एवं बजेट निर्माण गर्दा सहज हुने बताए ।
नीति आयोगमा पदाधिकारीहरु नियुक्त हुन नसकेको अवस्थामा समेत आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा सहितको टिमले गर्दै आएका कामको मुख्यमन्त्री राउतले प्रशंसा समेत गरे ।
कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आयोगले अन्य ६ प्रदेश भन्दा बढी काम गरेको दावी गरे । उनले आयोग पूर्णता पाउन नसके पनि अन्य प्रदेशहरुको तुलनामा राम्रा राम्रा कामहरु आयोगले गरेको स्पष्ट पारे ।
कार्यक्रममा प्रमुख सचिव गोकर्णमणि दुबाडी, कानून सचिव टिकाराम पाण्डे सहितको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया