काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
साँझ पाँच बजेका लागि बोलाइएको बैठकमा विविध बिषयमा छलफल गरिने बताइएको छ ।
यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नीप्रसाद सापकोटाले फिर्ता गरेको दुईदिन पश्चात परिषद्को बैठक आह्वान गरिएको छ ।
सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो ।
संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कलै फाइल फिर्ता पठाइदिएका थिए । संविधानमा संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था छ ।
प्रतिक्रिया