जनकपुरधाम । धनुषामा सडकको बिषयमा विवाद हुँदा दुई पक्षबिच झडप भएको छ ।
जिल्लाको औरही गाउँपालिका वडा नम्बर-१ झिटकोहियामा सडक निर्माणको बिषयलाई लिएर विवाद हुँदा दुई पक्षबिच झडप भएको हो ।
करिव दुई महिना पहिले वडास्तरी बजेटबाट दुई लाखको लागतमा निर्माण गरिएको कृषि बाटोको बिषयमा विवाद भएको स्थानीय सुजित यादवले जानकारी दिए ।
डिहिवारथानदेखि कोन्हा नदीसम्म नयाँ निर्माण गरिएको कृषि बाटोलाई काटेर स्थानीय रहमद राईनले आफ्नो खेतमा मिलाउन लाग्दा उपभोक्ता समितिले देखेपछि विवाद सिर्जना भएको थियो ।
स्थानीय युवा सुजितले भने,’रहमद राईन र उनका भाई अहमद राई, ईबराहिन राईन र सदाम राईन लगायतका व्यक्तिहरुले कृषि सडक कटान गरेर आफ्नो खेतमा मिलाईरहेको देखेपछि सोही स्थानका युवा जगरनाथ यादवले त्यसो नगर्न आग्रह गरेका थिए । तर उनीहरुले उनको आग्रहलाई कुनै वास्ता गरेनन् ।’
पछि गाउँका भद्रभलादमी र बुद्धिजीविहरुले उनीहरुलाई सम्झाउन खोज्दा उनीहरूले सडक कटान नरोक्ने भन्दै गालीगलौज समेत गरेको उनले बताए ।
उनीहरुको हातमा रहेको कोदालो लिएर आक्रमण गर्न खोज्दा विवाद उत्पन्न भएको थियो । दुईपक्षको झगडामा स्थानीय रामशंकर यादव सामान्य घाइते भएका छन् ।
विवाद बढेपछि विकासे मुद्दालाई राजनीतिक मुद्दा बनाई एक अर्कामाथि आरोप लगाएर फसाउने काम समेत भएको स्थानीयले बताए ।
स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।
प्रतिक्रिया