ताजा समाचार


मधेश विकासको अठोटका साथ अगाडी बढिरहेको छु : प्रधानमन्त्री ओली

द रियल समाचार     २०७७ माघ १९, सोमबार, १६: २३ मा प्रकाशित




जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश तथा देशको विकासको संकल्प लिएर अगाडी बढिरहेको बताएका छन् । आफू बिरुद्ध मधेश बिरोधी रहेको हल्ला फैलाइएको भन्दै आफू मधेश विकासको अठोटका साथ अगाडी बढिरहेको बताए ।

धनुषाको ढल्केवरमा मुलुककै सबैभन्दा बढी क्षमताको विद्युत सबस्टेशनको उदघाटनपछिको सम्बोधनमा प्रधानमन्त्री ओलीले आफू मधेसको विकास र समृद्धिको पक्षमा रहेको दावी गरे । उनले भने,‘मलाई मधेस विरोधीको रुपमा यहाँ चित्रण गरिएको छ, मलाई मधेश बिरोधी भन्नेहरुलाई चुनौती दिन चाहन्छु, मैले जति गरेको विकास मधेसमा गरेर देखाउनुस ।’

आफूलाई मधेस विरोधी भन्ने नेताहरुलाई डुमको छोरा वा चमारको छोरालाई काँधमा बोकेर हिडेको देख्नु भएको छ ? मधेशप्रेमी हुनुहुन्छ भने काँधमा उठाएर देखाउनुस ।’ खोक्रा नारा लगाएर हुँदैन, काम गरेर देखाउनु पर्छ,प्रधानमन्त्री ओलीले भने । मधेसका सडकहरु अस्तव्यस्त थिए, ढल थिएन कसैले निर्माण गर्न रोक्या थियो र ? उनले भने,‘मधेश बिरोधी केपी ओलीलाई भन्ने अनि बाटो ओलीले बनाइ दिने, ढल ओलीले बनाई दिने, हामी मधेशको विकास गरेर देखाउँछौँ ।’

मधेशको विकासका लागि कृषि आधुनिकिकरणमा सरकारले जोड दिएको बताउँदै प्रधानमन्त्री ओलीले खेत खेतमा सिंचाई सुविधा पुर्याउनका लागि कोशीको पानी तराई झादैँछौँ । उनले भने,‘खेत खेतमा सिंचाईको सुविधाका लागि पहाड छेडेर कोशी नदीलाई मधेसमा ल्याउँदैछ ।’

एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले चुनावको मिति एक दिन पनि पर नसर्ने दावी गरेका छन् । प्रतिनिधिसभा विघटनपछि सरकारले घोषणा गरेकै मितिमा चुनाव हुने दावी गर्दै उनले चुनावको तयारीमा लाग्न सबैलाई आह्वान गरे । उनले भने,‘तपाईंहरू चुनावको तयारीमा लाग्नुस, मिति एक दिन पनि पछाडी धकेलिदैन ।’

प्रधानमन्त्री ओलीले राम्रा र नयाँ कामका लागि परम्परा तोड्नु नराम्रो नभएको पनि बताए । ‘पशुपतिमा १४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले लेखे,’ उनले भने,‘चाँदीकै हाल्नुपथ्र्यो । सुनको हाल्नुहुन्न, परम्परा बिग्रिन्छ रे । म त्यस्तालाई सोध्न चाहन्छु, तपाईंको बुवा पण्डित तपाईँ किन पत्रकार हुनुभयो रु पण्डितै भएको भए पो परम्परा बाँच्थयो । मेरो बुवा प्रधानमन्त्री थिए र म प्रधानमन्त्री भएँ । नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ ।’

नेकपाको दुई पक्षबिचको विवादलाई लिएर प्रधानमन्त्री ओलीले ३ करोड मध्ये २÷४ जना जाँदैमा खासै फरक नपर्ने बताए । उनले हामीलाई छोडेर गएकाहरु पार्टी भित्र उपद्रव मचाएका थिए, सरकारको खुट्टा तान्नु बाहेक केही गर्दैन थिए । प्रधानमन्त्री ओलीले भने ‘ म त हिँड्छु मेरै बाटो तिमी खुट्टा तान्दै गर ।’

प्रधानमन्त्री ओलीले आजै कडा सुरक्षाकाबीच शहीद स्वर्गीय हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेका हुन् । स्वर्गीय यादवको १७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी सिरहा पुगेका थिए । शहीद यादवको शालिकमा माल्यार्पण अघि उनका छोरा डा.नविन यादव, श्रीमती पारोदेवी र नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

माल्यार्पण गर्न पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नेकपा दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए । नाराबाजी गर्ने आधा दर्जन नेता कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top