काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आज बसेको चौथो केन्द्रीय समिति बैठकले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । त्यस्तै महासचिव विष्णु पौडेललाई समेत महासचिवको पदबाट हटाइएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेको हो । ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
नेताहरुले माघ ५ मा तीन दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय समितिबाट पनि अनुमोदन गराइएको हो । यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो ।
संसद विघटनको विरोधमा दाहाल–नेपाल समूहले देशभर आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया