जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशी युवाहरुले आफ्ना अधिकारका लागि एक पटक फेरी संघर्ष गर्नुको विकल्प नरहेको बताएका छन् ।
मुलुकमा फेरी अधिकार खोस्ने खेल हुन सक्ने तर्फ इंगित गर्दै जसपा अध्यक्ष ठाकुरले फेरी संघर्षको तयारीमा लाग्न युवाहरुलाई आह्वान गरेका हुन् ।
आइतबार जनकपुरधाममा जनता समाजवादी पार्टीको युवा समायोजन अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशले मागेका अधिकांश अधिकारहरु अझै पूरा नभएको भन्दै अन्तिम धक्का दिन आवश्यक रहेको बताए ।
उनले भने,‘मधेश अधिकारका लागि लडेकाहरु अझै जेलमा छन्, कयौँ मधेशी प्रदेशसभा सदस्य, मन्त्री तथा नगर प्रमुखहरुमाथी मुद्दा कायमै, यसले मधेशी प्रतिको विभेद कायमै रहेको दर्शाउँछ । यिनै विभेद तथा बाँकी अधिकारहरुको सम्बोधनका लागि हामीलाई लड्नु छ ।’ यो लडाईको अगुवाई युवाहरुले नै गर्नुपर्ने अध्यक्ष ठाकुरले बताए ।
ठाकुरले युवाहरु भाग्य विधाता रहेको बताए । उनले समाजको गरिबी, अशिक्षा, अज्ञान तथा रोगव्याधी जस्ता अन्धकारलाई चिर्दै समाजलाई प्रकाशित गर्ने काम युवाको रहेको बताउँदै विकास निर्माणका निकायहरुमा पहिलो आवश्यकता युवाहरुकै पर्ने भएकोले उनीहरु देशको कर्णधार रहेको दाबी गरे ।
उनले जिवन निर्वाह लगायत देशलाई चलाउने साधनमा समेत पहिलो प्राथमिकता युवाहरुकै पर्ने र युवाहरु अग्रीम मोर्चामा रहेकोले देशमा विभिन्न कालखण्डमा भएका आन्दोलनमा युवाहरुले नै आफ्नो ज्यानको आहूती दिनुपरेको स्मरण समेत गरे ।
कार्यक्रममा जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले मधेशी जनतालाई एक होइन दुई प्रगितगमन बिरुद्ध लड्नुपर्ने बताए । उनले देशमा नयाँ संविधान निर्माण गर्ने बेलामा पनि प्रतिगमन भएको भन्दै अहिले प्रधानमन्त्री ओलीले समेत प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको दुई प्रतिगमन बिरुद्ध लड्नुपर्ने बताए ।
उनले भने,‘संविधान निर्माणको बेला मधेशी जनतामाथी गोली चलाइएको थियो त्यो महाप्रतिगमन थियो, अहिले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेका छन् । हामीलाई लोकतन्त्रको रक्षाका साथै आफ्ना अधिकारहरुको संरक्षणका लागि लड्नु छ ।’ नेता महतोले एक प्रतिगमन बिरुद्धको लडाई प्रचण्डजी, माधव जीको हुन सक्छ तर हाम्रो लडाई दुई प्रतिगमन बिरुद्धको हुनुपर्ने बताए ।
राष्ट्रिय युवा संघका अध्यक्ष मुकेश झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका नेताहरु अनिल कुमार झा, राजकिशोर यादव, सर्वेन्द्र नाथ शुक्ला, वृषेशचन्द्र लाल, जितेन्द्र सोनल, एकबाल अहमदलगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया