जनकपुरधाम । धनुषा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।
मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई ६ वटा चोरीको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
धनुषाको सशस्त्र प्रहरी बल नक्टाझिझमा कार्यरत सशस्त्र प्रहरी जवान मिथिलेश कुमार राउतको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–५ सखुवा बजार जाने सडकमा पार्किङ्ग गरि राखिएको ज.८ प. ८७७५ नम्बरको मोटरसाइकल चोरी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले चोरी भएको मोटरसाइकल पत्ता लगाउने क्रममा चोरहरुको गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर–३ रौजाखोरका रोहित कुमार यादव, विष्णुपुर गाउँपालिका वडा नम्बर–२ राजपुरका प्रमोद कुमार यादव, विष्णुपुर वडा नम्बर–२ कै मनोज कुमार यादव र धनुषाको सबैला नगरपालिका वडा नम्बर–४ पटेर्वाका अमरेन्द्र कुमार यादव रहेका छन् । चोरीको मोटरसाइकल खरिद गर्ने धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका जितेन्द्र यादवलाई समेत प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मिश्रले बताए । पक्राउ पर्ने सबै २५ वर्ष मुनिका छन् ।
मोटरसाइकल चोरहरुको गिरोहबाट प्रहरीले ६ वटा चोरीका मोटरसाइकलहरु समेत बरामद गरेका छन् । प्रहरीले उनीहरुबाट ज. ८ प. ८७७५ नम्बरको अपाचे, ज १२ प ६१११८ नम्बरको २२० सीसीको पल्सर, स ७ प ५२०३ नम्बरको डिस्कभर, को ३८ प ७६४ नम्बरको सुपर स्पलेण्डर, स ४ प ५७४६ नम्बरको २२० सीसीको पल्सर र ना ३९ प ६३८२ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल बरामद गरिएको उनले बताए ।
प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो । अनुसन्धानपछि उनीहरुलाई चोरी मुद्दा अन्तर्गत मुद्दा चलाइने डीएसपी मिश्रले बताए ।
प्रतिक्रिया