जनकपुरधाम । समाजमा रहेका हानीकारक सामाजिक मान्यताहरुको सम्बोधन गर्दै लैगिंक हिंसाबाट पीडित तथा प्रभावितहरुको सुरक्षा तथा न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले समुदाय प्रहरी संवाद भएको छ ।
समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा भएको समुदाय प्रहरी संवाद कार्यक्रममा स्थानीयस्तरमा हुने गरेका विभिन्न घटनाको पहिचान गरी समुदाय तथा प्रहरीले एक अर्कासंग मिलेर समाधानका लागि सहयोग र सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका र शहिदनगर नगरपालिका तथा महोत्तरीको गौशाला नगरपालिका र जलेश्वर नगरपालिकामा भएको समुदाय प्रहरी संवाद कार्यक्रमहरुमा पहिचान गरिएका विभिन्न समस्या र सोको समाधानका लागि समुदायिकस्तर तथा स्थानीय प्रहरीबाट समेत अग्रसरता लिने एकअर्काले प्रतिवद्धता व्यक्त गरेका छन् ।
भिएसओ, ईन्टरनेश्नल अलर्टको साझेदारी सहयोगमा भएको यस कार्यक्रममा समाजमा लागु औषध तथा मादक पद्धार्थ सेवन, घरेलु हिंसा, बाल विवाह, महिला हिंसा, बहु विवाह, बलात्कार, यौन दुव्र्यवहार, दाइजो प्रथा, बाल मजदुर, मानसिक तनाव तथा शोषण, उमेर नपुगि केटा केटी समेत भाग्ने, लैंगिक भेदभाव मुख्य समस्याका रुपमा रहेको भनि पहिचान पहिल्याएका छन् ।
स्थानीयस्तरमा हुने गरेका विभिन्न घटनामा प्रहरीलाई समुदायले जानकारी गराएतापनि समयमा प्रहरी पुग्न ढिलाई भएको र प्रहरी कार्यालयमा उजुरी दिदाँ पनि समयमा सो उजुरी तर्फ ध्यान नदिदाँ समुदायमा अपराधले प्रश्रय पाउने गरेको महिला अधिकारकर्मी श्रीविन्दु मास्केले गुनासो गरिन् । तर जलेश्वर नगरपालिकामा भएको कार्यक्रममा मलिवारा प्रहरी चौकीका ईन्चार्ज आदित्य सिंहले प्रहरीले समाजका समुदायसंग मिलेर विभिन्न कार्यक्रम देखि विभिन्न अपराध तथा गाउँ समाजका अनेकन समस्याहरु समाधान तर्फ अग्रसर रहेतापनि समुदायस्तरबाट रहेका अपेक्षाहरुमा चाहे अनुसारको सहयोग नभएको भन्दै गुनासो गरे ।
सहज परियोजनाका तर्फबाट गणेशमान चारनाथ नगरपालिकामा भएको कार्यक्रममा ईन्टरनेश्नल अलर्टका वरिष्ठ अधिकृत महेन्द्र महतोले समाजमा हुने विभिन्न खाले लैंगिक हिंसा समेतका घटना घटेमा प्रहरी वा न्यायिक समितिमा उजुरी दिई कानूनी अनुसार प्रक्रिया अघि बढाएमा समस्या समाधान हुने बताए । यसको लागि समुदायस्तरबाटै समयमै सचेत भएमा विभिन्न घटना न्यूनिकरण हुन सक्ने सम्भावना व्यक्त गरे ।
नेपालमा सुरक्षा तथा न्याय प्रणालीको सबलीकरणका समुदाय र प्रहरीले एक अर्कालाई आवश्यक सहयोग गर्ने भन्दै प्रतिवद्धता समेत जनाएका थिए ।
यस कार्यक्रममा सहजिकरण गरिरहेका समग्रका कार्यक्रम अधिकृत किरण कर्णले हानीकारक सामाजिक मान्यतामा रुपान्तरणका लागि सरोकारवालाहरुको भूमिका अभिवृद्धिमा जोड दिएका थिए । उनले समाजमा हुने विभिन्न घटनाका बारेमा केलाएर चर्चा गरेका थिए । यस समस्याहरुको समाधानका लागि समेत कार्ययोजना बनाएर समुदाय र प्रहरीले एक अर्काका परिपुरकको रुपमा रहि कार्य गर्नुपर्ने आवश्यकता औल्याए ।
शहिदनगर नगरपालिकामा भएको समुदाय प्रहरी संवाद कार्यक्रममा ईलाका प्रहरी कार्यालय यदुकाहाका प्रहरी निरिक्षक संवित भण्डारीले समाजमा हुने गरेका लैंगिक हिंसा देखि विभिन्न अपराधिक घटनाका अभियूक्त पक्राउ देखि समस्या समाधानका लागि कानूनीतहत कारवाही गर्न हामी तत्पर रहेको बताए ।
समुदायिकस्तरबाटै घटना न्यूनिकरणका लागि कानूनी प्रक्रिया अनुसार अघि बढेमा समुदायले शान्ति र सुरक्षा समाजमा कायम हुने उनको भनाई थियो ।
प्रतिक्रिया