जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादले समग्र मुलुकलाई द्धन्द्धमा धकेलेको आरोप लगाएका छन् ।
भोली जनकपुरधाममा आयोजना हुन लागेको राष्ट्रिय इन्जिनियर संघको राष्ट्रिय भेलामा सहभागिता जनाउन शुक्रबार जनकपुरधाम आएका अध्यक्ष ठाकुर आफ्ना पार्टीका नेता कार्यकर्ताहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले भने,‘जनताले ५ वर्षका लागि प्रतिनिधिसभा बनाएपनि ओलीले ३ वर्षमै त्यसलाई समाप्त गरेका छन् । यसले जनप्रतिनिधि र जनता दुबैको अधिकारलाई हनन गरेको छ ।’
आफ्ना पार्टीका नेता कार्यकर्तालाई सचेत भएर बस्न आग्रह गर्दै अध्यक्ष ठाकुरले मधेशी जनताले आफ्नो अधिकार अहिलेसम्म नपाएकोले जसपाले जनताको अधिकार दिलाउन संघर्ष जारी राखेको बताए । प्रतिनिधिसभा पुर्नस्थापनाको सवालमा बोल्दै उनले भने,‘अदालत सर्वोपरी रहेकोले अदालतको निर्णय मान्नु बाहेक अन्य कुनै विकल्प छैन् । हामी अदालतको निर्णय मान्छौं ।’ अध्यक्ष ठाकुरले शासन प्रशासन चलाउन अर्थको आवश्यकता रहेकोले केन्द्र सरकारले आफ्नो मातहत सबैथोक राखेर प्रदेशलाई पंगु मात्र बनाएको आरोप समेत लगाए ।
राष्ट्रिय इन्जिनियर संघको अगुवाईमा शनिवार माडवाडी सेवा समिति जनकपुरधाममा आयोजना हुन लागेको राष्ट्रिय भेलामा सहभागिताका लागि उनी यहाँ आएका हुन् ।
प्रतिक्रिया