ताजा समाचार


आज शहीद दिवस मनाईदै

द रियल समाचार     २०७७ माघ १६, शुक्रबार, ११: ४० मा प्रकाशित




काठमाण्डौ । जहानियाँ राणा शासनविरुद्धको लडाईमा आफ्नो ज्यानको बलिदानी दिएका शहीदहरुको सम्झनामा आज शहीद दिवस मनाईंदै छ ।

नेपालमा शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ ।

शहीदहरुको स्मरणमा विक्रम सम्वत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा साताव्यापी रुपमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाउने गरिएको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।

शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ । सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहनेछ ।

सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेपनि सार्वजनिक विदा भने कटौति गरिसकेको अवस्था छ ।

वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो भने सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो । त्यस्तै, माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

यसैबिच शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले सन्देश जारी गर्दै मुलुकमा दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर भएपछि मात्र शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top