जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले आफूमाथी लगाइएको आरोप निराधार रहेको दावी गरेका छन् ।
वडाध्यक्ष साहमाथी वडामा रहेको रामजानकी आधारभूत विद्यालयको जग्गा हड्पेर जानकी पतञ्जली योग शिविरलाई दिएको आरोप लगाइएको थियो । आज एक पत्रकार सम्मेलनको आयोजना गरि वडाध्यक्ष साहले आफ्नो वडामा जानकी सरोवरको पूर्वी डील तथा पश्चिमी डीलमा रहेको २ बिघा १३ कठ्ठा ५ धुर एलानी जग्गामा समाजको सहमतिमै विद्यालय र योग शिविर राख्ने निर्णय भएको दावी गरे ।
उनले समाजकै अगुवाहरुको बैठक बसेर २०७० साल चैत १५ गते योग शिविरका लागि पोखरीको पूर्वतर्फको डीलमा जग्गा उपलब्ध गराउने सहमति भएको बताए । वडा नम्बर–७ को विद्यालयसँग जग्गाको लालपूर्जा नै नरहेको अवस्थामा आफूले कसरी विद्यालयको जग्गा हड्पे उनले प्रश्न गरे ।
उनले भने,‘न म विद्यालयको जग्गा हड्पेको छु, न योग शिविरको नै, त्यहाँ समाजकै भलाईका लागि यो शिविर सञ्चालनमा ल्याइएको छ । शिक्षा र स्वास्थ्य सबैका लागि महत्वपूर्ण हुन्छ, मेरो वडामा एकै ठाउँमा शिक्षाका लागि विद्यालय र स्वास्थ्य क्षेत्रलाई दुरुस्त राख्नका लागि योग शिविर एकै ठाउँमा हुनु खुशीको विषय छ ।’
गैरकानूनी रुपमा आफू विद्यालयको अध्यक्ष रहेको आरोप समेत तर्कसंगत नरहेको वडाध्यक्ष साहको भनाई थियो । उपमहानगरपालिकाको बोर्ड बैठकबाटै निर्णय भएर आफू विद्यालयको अध्यक्ष बनेको भन्दै यसमा गैरकानूनी रुपमा अध्यक्ष बन्ने विषय नरहेको वडाध्यक्ष साहले दावी गरे ।
उनले आफु विद्यालय, पोखरी र योग शिविरको सौन्दर्यीकरण तथा संरक्षणका लागि काम गर्दै आएको बताउँदै आफुमाथि जग्गा हड्पेको आरोप कपोलकल्पित र निराधार रहेको बताए ।
प्रतिक्रिया