ताजा समाचार


त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा

द रियल समाचार     २०७७ माघ १५, बिहीबार, १८: १८ मा प्रकाशित




काठमाण्डौ । त्रिभुवन आर्मी क्लब चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेसँगै चौथो पटक फाइनलमा पुगेको हो । आर्मीले अब उपाधिका लागि अर्को विभागीय टोली एपीएफसँग खेल्नेछ । एपीएफले पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो ।

पहिलो संस्करणमा पुलिससँग उपाधि बाँडेको आर्मी त्यसपछि लगातार दुई पटक फाइनलमा पराजित भएको थियो । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राजेश पुलामीको अर्धशतक मद्दतमा पूरै ५० ओभर खेल्दा १० विकेट गुमाएर २२९ रन बनाएको थियो ।

जवाफमा बागमतीले ४० दशमलव २ ओभर खेल्दै सबै विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ४७ रन बनाए । लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको बागमतीले निरन्तर विकेट गुमाउँदा अलआउट भयो ।
२३० रनको लक्ष्य पछ्याउ ब्याटिङ गरेको बागमतीको सुरुवात राम्रो हुन सकेन । बागमतीले पहिलो १० ओभरमा जम्मा २६ रन बनाउँदा सुरुवाती ५ विकेट गुमाएको थियो ।

टिमले रनको खाता नखोल्दै पहिलो ओभरको तेस्रो बलमा ओपनर आकाश थापा विक्रम सोबको बलमा हरि चौहानबाट क्याचआउट भए । अर्का ओपनर आदिल खान छैटौं ओभरको दोस्रो बलमा व्यक्तिगत १० रन बनाएर आउट भए । जितेन्द्र मुखियाको बलमा आदिल विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट भए ।

बागमतीको विकेत झर्ने क्रम रोकिएन । स्कोर १८ रन हुँदा बागमतीले थप ३ विकेट गुमायो । नयाँ बलर लिएर बलिङ गरेका आर्मीका विक्रम सोब र जितेन्द्र मुखियाले बागमतीको टप अर्डरलाई सस्तैमा पभेलियन फर्काए । सातौं ओभरको दोस्रो बलमा पृथु बास्कोटा १ रन बनाएर विक्रम सोबको बलमा एलबीडब्ल्यु धरापमा परे । आठौं ओभरमा विभत्सु थापा ४ रन बनाएर आउट भए । उनी मुखियाको बलमा राजेश पुलामी मगरबाट क्याचआउट भए । आठौं ओभरको चौथो बलमा इशान पाण्डे खाता नखोली आउट हुँदा बागमतीले १८ रन जोड्दा ५ विकेट गुमायो । इशानलाई मुखियाले एलबीडब्ल्यु गरे ।

पाँचौ नम्बरमा ब्याटिङ गरेका कप्तान ज्ञानेन्द्रले विपिन आचार्यसंग मिलेर टिमको स्कोर अगाडि बढाउने प्रयास गरेका थिए । ज्ञानेन्द्र र विपिनले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । तर २२औं ओभरमा आर्मीका सुशन भारीले यो पार्टनरसिप तोडे ।
विपिनले २३ रन बनाएर आउट भए । त्यसपछि २६औं ओभरको दोस्रो बलमा रामनरेश गिरी पनि भारीकै बलमा विकेटकिपर विनोद भण्डारीबाट स्टम्पिङ भए । रामनरेशले ६ रन बनाएर आउट भए ।

एक छेउबाट इनिङ्स सम्हालिरहेका कप्तान ज्ञानेन्द्र पनि २८औं ओभरमा आउट भए । ज्ञानेन्द्रलाई भारीले एलबीडब्ल्यु धरापमा पारे । ज्ञानेन्द्रले ६० बल खेल्दै ४ चौका मद्दतमा ४७ रन बनाए । ज्ञानेन्द्र आउट हुँदा बागमतीको स्कोर १०५(८ थियो । ३१औं ओभरको तेस्रो बलमा बागमतीका गौतम केसी विक्रम सोबको बलमा रोहित पौडेलबाट क्याचआउट भए । ४१औं ओभरको दोस्रो बलमा तिलक भण्डारी मुखियाको बलमा राजेश पुलामी मगरबाट क्याचआउट भए । नन्दन यादव २२ रनमा अविजित रहे । बागमतीलाई अलआउट गर्न आर्मीका विक्रम सोब, जितेन्द्र मुखिया र सुशन भारीले उत्कृष्ट बलिङ गरे । मुखियाले ४.२ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।
यस्तै सोबले १० ओर बलिङ गर्दै ५ ओभर मेडन राखेर २५ रन मात्र खर्चेदै ३ विकेट लिए । यस्तै भारीले १० ओभरमा १ मेडन राख्दै ३६ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघिका आर्मीका लागि राजेश पुलामी मगरले सर्वाधिक ६५ रन बनाएका थिए । टप अर्डर कोल्याप्स हुँदा मिडर अर्डर र लोहर अर्डरले राम्रो ब्याटिङ गर्दै आर्मीको लागि सम्मानजनक स्कोर तयार पार्न सहयोग गरे । भिम शार्कीले ४० र विक्रम सोबले ३५ रन जोडे ।
सातौं विकेटका लागि राजेश र विक्रमले ९२ रनको साझेदारी गरे । बागमतीका लागि गौतम केसीले सर्वाधिक ५ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीको सुरुवात खराब रह्यो । ब्याटिङ अर्डरमा आर्मीले केही परिवर्तन गरेपनि तयसले काम गरेन । हरी चौहानलाई अनिल मण्डलसंग ओपनिङ गराएको बर्मीले चौथो ओभरमा २ विकेट गुमायो ।

बागमतीका गौतम केसीले चौथो ओभरको तेस्रो बलमा अनिल मण्डललाई बोल्ड गरे । यस्तै त्यही ओभरको पाँचौ बलमा तेस्रो नम्बरमा गौतमले ब्याटिङ गरेका रोहित पौडेलललाई बोल्ड गरे । रोहितले खाता खोल्न सकेनन् । त्यसपछि आठौं ओभरको पहिलो बलमा हरि चौहान ३ रन बनाएर आउट भए । हरिलाई गौतमले विकेटकिपर आकाश थापाबाट क्याचआउट गराए । १७ दशमलव ३ ओभरबाट आर्मीको इनिङ्स उकास्न भिम शार्की र लोकेश बमले चौथो विकेटका लागि अर्धशतकिय साझेदारी गरे । यी दुईले चौथो विकेटका लागि ५६ रनको साझेदारी गरे । बागमतीका नन्दन यादवले लोकेशलाई आउट गर्दै पार्टनरसिप ब्रेक गराएका थिए ।

१९औं ओभरको दोस्रो बलमा नन्दनको बलमा पृथुले सलिपमा उत्कृष्ट क्याच गर्दै लोकेशलाई आउट गराए । लोकेशले २३ रन बनाए । त्यसपछि भिमलाई साथ दिन राजेश पुलामी मगर क्रिज पुगे । एक छेउबाट टिमको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम पनि २२औं ओभरमा आउट भए । उनलाई २२औं ओभरको तेस्रो बलमा बागमतीका तिलक भण्डीले विकेटकिपर आकाश थापाबाट क्याचआउट गराए । ६१ बल खेलेका भिमले ५ चौका र १ छक्का मद्दतमा ४० रन जोडे ।

कप्तान विनोद भण्डारी सातौं नम्बरमा ब्याटिङ गरेका थिए । २७ औं ओभरको चौथो बलमा विनोद १० रन बनाएर आउट भए । बागमतीले विपिन आचार्यले आफ्नो पहिलो ओभरमै आर्मीका कप्तानलाई नन्दन यादवबाट क्याचआउट गराए । विनोदले १९ बल खेल्दै १० रन बनाए ।
एपीएफ र आर्मीबीच फाइनल खेल शनिवार हुनेछ ।

दोस्रो संस्करणको फाइनलमा एपीएफले आर्मीलाई पराजित गरेको थियो । विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलबाट बाहिरिने नेपाल पुलिस र बागमतीले समान ५० हजार पाउनेछन् । खेलको बेस्ट प्लेअरले ५० हजार तथा बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले समान २५ हजार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top