एजेन्सी । चीनमा कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिन थालेपछि बेइजिङ शहरका नागरिकलाई बाहिर ननिस्कन आग्रह गरिएको छ ।
बेइजिङ शहरका अधिकारीले चीनमा मनाइने ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्कन नागरिकहरुलाई आग्रह गरेका छन् । चीन सरकारले पर्वका लागि विदा दिएको छ ।
यस समयमा सरकारी कार्यालयहरु पनि विदा हुने भएकोले ठूलो संख्यामा मानिसहरु यो पर्व मनाउन जम्मा हुने गरेका छन् । यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो संख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर विदा मनाउछन् । चीनमा दिन प्रतिदिन कोरोना भाइरसका संक्रमितहरु भेटिरहेको स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् ।
चीनको राजधानी शहर बेइजिङका नगरपालिका अधिकारीले बेइजिङमा अनावश्यक रुपमा बाहिर ननिस्कन भनेका हुन् । उनले पछिल्ला केही दिनहरुमा चीनका बेइजिङसहितका अरु पनि विभिन्न शहरमा कोरोना भाइरसको प्रभाव फेरि पनि देखिन थालेकोले विदा मनाउने क्रममा बाहिर ननिस्कन र ठूलो संख्यामा उपस्थित नहुन आग्रह गरेका हुन् ।
चीन सरकारले जनाएअनुसार चीनभित्र संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् ।
प्रतिक्रिया