जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा एक डिष्टिलरी सञ्चालकको आफ्नै कोठाभित्र रक्ताम्य अवस्थामा शव फेला परेको छ ।
जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा क्षीरेश्वर डिष्टिलरी नामक मदिरा इन्डस्ट्रिज सञ्चालन गरिरहेका उद्योगका सञ्चालक ५० वर्षीय प्रमोद रेग्मीको शव बुधबार बिहान उनको कोठामा फेला परेको हो ।
रेग्मीको शव कम्पनिमै रहेको उनको कोठाभित्र टाउकोमा गम्भीर चोट लागेको र शरीरबाट अत्यधिक रगत बगिरहेको अवस्थामा बुधबार बिहान करिव ९ बजे फेला परेको प्रहरीले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-७ टुहाडे टोल स्थायी ठेगाना भएका रेग्मी धनुषामा चारजनासँग मिलेर डिष्टिलरी सञ्चालन गर्दै आएका थिए ।
मंगलबार बिहान आफ्नो घरबाट फर्केका उनी सोही साँझ उद्योगमा साथीभाइसँग बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि उनी सुत्नका लागि आफ्नो कोठाभित्र प्रवेश गरेका थिए । उनका एकजना आफन्तले दिएको जानकारी अनुसार उनी राति १० बजेसम्म आफ्ना छोराछोरीसँग फोनमा कुराकानी समेत गरेका थिए । बिहान अबेरसम्म नउठेपछि उनको कोठामा गई हेर्दा उनी रक्ताम्य अवस्थामा फेला परेको उनले बताए ।
रेग्मीको टाउकोमा ७ इन्च लामो र २ इन्च गहिरो घाउ रहेको प्रहरीले उठाएको मुचुल्कामा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले रेग्मीको शव रक्ताम्य अवस्थामा फेला परेकोले घटना शंकास्पद रहेको बताए । मृतकको शव पोष्टमार्टमका लागि धरान पठाइएको उनले जानकारी दिए ।
यता, घटनामा संलग्न भएको हुनसक्ने आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता मिश्रले बताए ।
- तस्बिर : सांकेतिक
प्रतिक्रिया