काठमाडौं । उखु किसानको लाखौं बक्यौता नतिरेका चिनी उद्योगी राकेश अग्रवाललाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
अग्रवाललाई त्रिपुरेश्वरस्थित उनको घरबाट बुधबार साँझ पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।
सर्लाहीस्थित अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज तथा पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा सुगर मिल राकेशले नै सञ्चालनमा ल्याएका थिए।
उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राकेशलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइने एसएसपी सिंहले बताए ।
गृह मन्त्रालयले गत ३० मंसिरमा उखु किसानलाई भुक्तानी नदिने उद्योगीलाई पक्राउ गरी रकम असूल्ने निर्णय गरेको थियो ।
उखु किसानलाई भुक्तानी नदिएको आरोपमा राकेश यसअघि २०७५ कात्तिकमा पनि पक्राउ परेका थिए ।
प्रतिक्रिया