जनकपुरधाम । प्रदेश २ मा पनि कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ ।
यस प्रदेशमा प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजबाट यस अभियानको शुरुवात गरिएको हो ।
आज प्रादेशिक अस्पताल जनकपुरधाममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव खोप लगाएर यहाँ खोप अभियानको शुरुवात गरेका छन् ।मन्त्री यादव कोरोना संक्रमित समेत भएका थिए ।
कानूनमन्त्री यादवपछि प्रादेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले कोरोना विरुद्धको भ्याक्सिन लिएका छन् भने बाँकी स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुले समेत भ्याक्सिन लगाउन सुरु गरेका छन् ।
भ्याक्सिन लिएपछि मन्त्री यादवले भ्याक्सिन लिनुपूर्व र लिएपछि शरिरमा कुनै किसिमको फरक नपरेको बताए । उनले भ्याक्सिन विरुद्धको विभिन्न अफवाहरु रहेकोमा त्यसलाई चिर्न आफुले पहिलो भ्याक्सिन लगाएको बताए ।
त्यस्तै प्रदेश २ को वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मुख्यमन्त्री लालबाबु राउत र सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा सामाजिक विकासमन्त्री नवल किशोर साहले अभियानको शुरुवात गरेका छन् ।
मन्त्री यादवले भ्याक्सिनको व्यवस्था गर्ने जिम्मा संघ सरकारको रहेकोले यदि संघ सरकार त्यसबाट पञ्छिए प्रदेशवासीको लागि प्रदेश सरकार भ्याक्सिनको व्यवस्था गर्ने बताए ।
शुभारम्भ कार्यक्रममा राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. जामुन प्रसाद सिंहले यो खोप सबै भन्दा उत्कृष्ट रहेको बताए । डब्ल्युएचओले यस भ्याक्सिनलाई आपतकालिन रुपमा प्रयोग गर्न सबैभन्दा पहिले मान्यता दिएको र यो भ्याक्सिन बनाउने कम्पनि विश्वमा आवश्यक पर्ने ६० प्रतिशत खोपको आपुर्ति गर्नेगरेकोले यसमा विश्वास गर्न सबैसँग आग्रह गरे । १८ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई यो खोप अहिले नदिइने डा. सिंहले बताए ।
संघ सरकारले यस प्रदेशमा ३४ हजार ८०४ डोज खोप उपलब्ध गराएकोमा पहिलो चरणमा खोप लिनेमा २३ हजार ७१ जना चिकित्सक तथा नर्सहरुको नाम दर्ता गरिएको छ । जसमध्ये सरकारी अस्पतालका ११ हजार ७ सय ३७ र निजी अस्पतालका ११ हजार ३ सय ३४ जना रहेका छन् । त्यस्तै ७ हजार २७ महिला स्वयंसेविका र १ हजार २ सय ४ जना सरसफाइकर्मीको नाम दर्ता गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए ।
प्रतिक्रिया