जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापामारी गरि करिव पौने तिन लाख रुपैयाँ सहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार अपरान्ह ४ बजे कार्यालयमा प्रवेश गरेको अख्तियारको १६ जनाको टोलीले राती साढे १० बजेसम्म अनुसन्धान गरि कार्यालयमा लुकाएर राखेको सो घुस रकमसहित एकजना कार्यालय सहयोगी र एकजना विचौलियालाई पक्राउ गरेको हो ।
अख्तियारको टोलीले लामो अनुसन्धानपछि कार्यालय सहयोगी भोगेन्द्र कापर र विचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लिएको थियो ।
कार्यालय सहयोगी कापरले कार्यालयका कोठाको सोफा, कार्पेटमूनी, खाट र दराजमा २ लाख २३ हजार ८ सय ५० रुपैयाँ लुकाएर राखेका थिए भने विचौलिया भगतको साथबाट ५० हजार रुपैयाँ बरामद गरिएको थियो।
भगतले आफु ट्रयाक्टरको लाइसेन्सका लागि कार्यालयका कम्प्यूटर अपरेटर अनिल गिरीलाई ५० हजार घुससहित एकजना सेवाग्राहीको लाईसेन्स बनाईदिन पैसा दिएको टोलीसमक्ष बयान दिएका थिए ।
कम्प्यूटर अपरेटर गिरी विगत करिव एकदशकदेखि कार्यालयमा घुस र कमिसनको आखाडा जमाएर बसेको कार्यालयकै एकजना कर्मचारीले नाम नबताउने सर्तमा जानकारी दिए ।
उनले भने,’अन्य ठाउँमा सरुवा हुनलाग्दा उनी पैसा र पावरको बलमा सरुवा रोक्का गराएर निरन्तर यसै कार्यालयमा बस्दै आएका छन् । उनले एकदशकको अवधिमा भ्रष्टाचार गरी करोडौंको सम्पति आर्जन गरेका छन् ।’
अख्तियारको टोलीले कार्यालय प्रमुख विरेन्द्र साहलाई पनि खानतलासी गर्ने बेलासम्म नियन्त्रणमा लिएको थियो ।
घुस रकम र कागजात नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको यस कार्यमा संलग्न कर्मचारीको समेत खोजी जारी रहेको अख्तियारले जनाएको छ ।
यसअघि सोही कार्यालयबाट जारी गरिएको ३ सय स्मार्ट लाईसेन्स कार्यालयको पछाडी एक धानखेतमा फेला परेको थियो । त्यस घटनामा संलग्न व्यक्तिको समेत अहिलेसम्म पहिचान भएको छैन् ।
प्रतिक्रिया