ताजा समाचार


अभियानको पहिलो दिन प्रदेश २ मा ९ केन्द्र, १४ बुथबाट ७ सय ३३ जना फ्रन्टलाइनरलाई कोरोनाविरुद्धको खोप लगाइयो

द रियल समाचार     २०७७ माघ १४, बुधबार, १८: १० मा प्रकाशित





जनकपुरधाम । प्रदेश नम्बर २ मा कोरोनाविरुद्धको खोप अभियानको पहिलो दिन आज (बुधबार) ७ सय ३३ जनाले खोप लगाएका छन् ।

प्रदेशको ८ वटै जिल्लाको ९ केन्द्र र १४ वुथबाट ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।

अभियानको पहिलो दिन आठवटा जिल्लाको अस्पताल र सप्तरीस्थित प्रहरी अस्पतालमा कोरोना विरुद्धको भ्याक्सिन दिइएको छ । पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीहरुलाई भ्याक्सिन दिइदैछ ।

अभियानको पहिलो दिन सबैभन्दा बढी सप्तरीमा १ सय ४६ जनाले भ्याक्सिन लगाएका छन् भने सबैभन्दा कम रौतहटमा २६ जनालाई लगाइएको छ । त्यस्तै सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ७६ जना र रुपनी प्रादेशिक प्रहरी अस्पतालमा ७० जनाले भ्याक्सिन लगाएका छन् । त्यस्तै सर्लाहीमा १ सय २९ जना, पर्सामा १ सय १३, सिरहामा १ सय १०, धनुषामा १ सय २, बारामा ७० र महोत्तरीमा ३७ जनाले भ्याक्सिन लगाएको निमित्त निर्देशक झाले बताए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकासमन्त्री नवल किशोर साहले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालबाट अभियानको शुभारम्भ गरेका थिए ।

निमित्त निर्देशक झाले अहिलेसम्म कुनैपनि ठाउँबाट खोपको नकारात्मक रिएक्शन सम्बन्धी खबर नआएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top