ताजा समाचार


प्रदेश २ मा कोरोनाविरुद्धको खोप अभियान सुरु,मापदण्ड विपरित मन्त्रीले लगाए खोप

द रियल समाचार     २०७७ माघ १४, बुधबार, १६: १० मा प्रकाशित





जनकपुरधाम । प्रदेश नम्बर २ मा एकसाथ ३ अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल, बिरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजस्थित गजेन्द्रनारायाण सिंह सगरमाथा अस्पतालबाट कोरोना बिरुद्धको खोप लगाउने अभियान शुरु भएको हो ।

मुख्यमन्त्री लालबाबु राउत बिरगंजको नारायणी अस्पतालमा भएको एक कार्यक्रमका बिच खोप अभियानको शुभारम्भ गरे भने, प्रादेशिक अस्पताल जनकपुरधाममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आफै पहिलो खोप लगाएर शुभारम्भ गरेका छन् भने राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले शुभारम्भ गरे ।

विरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा नर्स हेमा थापाले पहिलो खोप लगाइन भने गजेन्द्रनारायण सिंह अस्पतालमा नर्स सुनिता थापाले पहिलो खोप लगाइन् । जनकपुरधाममा भने मन्त्री यादवले खोप लगाएलगत्तै प्रादेशिक अस्पतालको नर्सहरुको ईन्चार्ज सन्ध्या दासले खोप लगाएकी थिइन् । उनका साथै मेडिकल सुपरिटेन्डेन्ट प्रमोद कुमार यादव समेतले खोप लगाएका थिए ।
मापदण्ड विपरित मन्त्रीले लगाए खोप
सरकारले पहिलो चरणमा अग्रमोर्चामा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सफाईकर्मीहरुलाई पहिलो चरणमा कोरोना बिरुद्धको खोप लगाउने एउटा मापदण्ड तयार पारेको थियो । तर प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सो मापदण्ड विपरित आफै पहिलो खोप लगाएका हुन् । मन्त्री यादव स्वयंले पहिले खोप लगाएपछि त्यसको आलोचना समेत भएको छ ।

मन्त्री यादवले कोरोनाबिरुद्धको खोप कोभिशिल्डलाई लिएर विभिन्न अफवाहहरु रहेकोले सो अफवाह चिर्नकै लागि आफूले पहिलो खोप लिएको प्रतिक्रिया दिए । उनले खोप लगाउने फ्रन्टलाइनहरुको मनोवल बढाउन आफुले पहिलो खोप लगाएको बताए ।
खोप लगाइ सकेपछिको अनुभव
बुधबारबाट शुरु भएको कोरोना बिरुद्धको खोप अभियान जनकपृुरधामको प्रादेशिक अस्पतालमा समेत उत्सव जस्तै देखिएको थियो । त्यहाँ स्वास्थ्यकर्मी तथा सुृरक्षाकर्मीका साथै प्रदेश सरकारका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । खोप लगाउने व्यक्तिलाई आधा घण्टा निगरानीमा राख्नका लागि चिकित्सकहरुको टोली समेत त्यहीँ उपस्थित थिए । मन्त्री यादवले समेत खोप लगाएपछि उनलाई त्यहीँ छेउको कोठामा चिकित्सकहरुको निगरानीमा राखिएको थियो ।

प्रादेशिक अस्पताल जनकपुरधाममा पहिलो खोप लगाएका मन्त्री यादवले खोप लगाउनुपूर्व र लगाई सकेपछि खासै कुनै फरक अनुभव भएको जस्तो नलागेको बताए । उनले भ्याक्सिन विरुद्धको विभिन्न अफवाहरु रहेकोमा त्यसलाई चिर्न आफुले पहिले भ्याक्सिन लिएको बताए ।

उनले भ्याक्सिन ल्याउने जिम्मा संघ सरकारको रहेकोले यदि संघ सरकार त्यसबाट पञ्छिए प्रदेशवासीकालागि प्रदेश सरकार भ्याक्सिनको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । चाँडै नै प्रत्येक जिल्लाबाट पनि खोप लगाउने योजना रहेको उनको भनाई थियो । प्रत्येक जिल्ला अस्तालका साथै प्रदेशको ११ स्थानबाट खोप लगाउने व्यवस्था गरिने मन्त्री यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top