ताजा समाचार


भोलीदेखि देशभरका ६२ अस्पताल र १२० बढी खोप केन्द्रबाट खोप अभियानको शुरुवात हुँदै

द रियल समाचार     २०७७ माघ १३, मंगलवार, १९: ३० मा प्रकाशित




जनकपुरधाम । नेपाल सरकारले भोलीदेखि ७ वटै प्रदेशमा ६२ वटा अस्पताल र १ सय २० बढी खोप केन्द्रबाट खोप अभियानको शुरुवात गर्न लागेको छ ।

पहिलो चरणमा देशभरका ३ सय वटा स्वास्थ्य संस्थाबाट खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप मध्ये संघिय सरकारले प्रदेश २ सरकारलाई ३४ हजार ८०४ डोज खोप पठाइसकेको छ । प्रदेशको आठवटै जिल्लामा एकै दिन खोप अभियानको शुभारम्भ गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।

आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान सुरु गर्न लागिएको उनले बताए । खोप अभियानको शुभारम्भ गर्न मुख्यमन्त्री राउतले वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजबाट गर्ने निर्देशक झाले जानकारी दिए । सबै खोप आठवटै जिल्लामा पठाइसकिएको छ ।

पहिलो चरणको लागि यस प्रदेशमा ३४ हजार ८०४ डोज खोप आएकोमा हालसम्म ३१ हजारभन्दा बढीको नाम संकलन गरिएको निमित्त निर्देशक झाले बताए । पहिलो चरणमा खोप लिनेमा २३ हजार ७१ जना चिकित्सक तथा नर्सहरुको नाम दर्ता गरिएको छ भने सरकारी अस्पतालका ११ हजार ७ सय ३७ र निजी अस्पतालका ११ हजार ३ सय ३४ जनाको नाम दर्ता गरिएको छ । त्यस्तै ७ हजार २७ महिला स्वयंसेविका र १ हजार २ सय ४ जना सरसफाइकर्मीको नाम दर्ता गरिएको झाले बताए ।

देशभर बुधबारबाट सुरु गर्न लागिएको खोप अभियान माघ १८ गतेसम्म पहिलो डोज दिइसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले दिन लागिएको खोप सामान्यतया ४ हप्ताको फरकमा दुई डोज दिन सकिन्छ । नेपालमा एक महिनाको फरकमा २ डोज दिने योजना रहेको छ । खोपको पहिलो र दोस्रो डोजमा जति धेरै फरक भयो त्यति नै खोपको प्रभाव मूल्याङ्कन गर्न सजिलो हुने चिकित्सकको भनाइ छ ।

प्रदेश २ को कुन जिल्लामा कति खोप ?
प्रदेश सरकारले सबभन्दा बढि धनुषामा ९ हजार १ सय ८२, पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप लगाइने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top