ताजा समाचार


निर्वाचनको तयारी सुरु, धनुषामा ३ दल बाहेक सबै विरोधमा

द रियल समाचार     २०७७ माघ १३, मंगलवार, १८: ४५ मा प्रकाशित





जनकपुरधाम । धनुषामा कडा सुरक्षाकाबीच निर्वाचन आयोगले आयोजना गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएको छ ।
मंगलवार जिल्ला निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रमको क्रियाकलाप संचालन हुने सम्बन्धमा जानकारी दिने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा दलहरुले विरोध जनाएका छन् । दलहरु विरोधमा भएको कारणले हो–हल्ला र कार्यक्रम भाँडिने सक्ने अवस्थालाई दृष्टिगत गर्दै सहभागी भन्दा तेब्बर संख्यामा कार्यक्रम स्थल बाहिर सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सो कार्यक्रममा पछिल्लो निर्वाचनमा सहभागिता जनाएका १२ वटा दल मध्ये नेपाली कांग्रेस, जनमत पार्टी र राप्रपा बाहेक कुनैपनि दलले सहभागिता जनाएका थिएनन् । आगामी वैशाखमा हुने निर्वाचनको विरोधमा रहेका जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगद्वारा आयोजित कार्यक्रमको कडा विरोध जनाएका छन् ।

जनता समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादवले कार्यक्रम बारे आफूहरुलाई जानकारी भएपनि आफूहरु निर्वाचनको विरोधमा रहेकोले सहभागिता नजनाएको बताए । त्यस्तै प्रचण्ड–नेपाल समूहका दिपक यादवले आफूहरु निर्वाचन सम्बन्धी हरेक कार्यक्रमको विरोध गर्ने जानकारी दिए ।
आयोगको कार्यक्रम सुरु
नेपाल सरकारले चुनावको घोषणा गरेपछि जिल्लामा चुनावको तयारीलाई निरन्तरता दिइएको जिल्ला निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले जानकारी दिईन् ।

सर्वोच्च अदालतको फैसलापछि हुनसक्ने सम्भावित आन्दोलनको अवस्थालाई सुरक्षा निकायले विश्लेषण गरी धनुषा जिल्लामा सुरक्षा रणनीति बनाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । निर्वाचन आयोगले माघ १५ देखि २१ गतेसम्म देशभरका सम्पूर्ण स्थानीय तहका केन्द्रहरुमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उक्त कार्यक्रम अनुसार माघ १५ गते नगरपालिका तथा गाउँपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले माघ १६ देखि १८ गतेसम्म मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउन, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनका लागि सूचना दिन सकिने उल्लेख गरेको छ ।

यदि कसैले झुट्ठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा माघ १६ र १७ मा उजुरी दिन सकिने जनाइएको छ । सो उजुुरीमाथि छानबीन गरी १९ गते आरोपितलाई सफाईको मौका दिइने, २० गते सो विवरण जिल्ला प्रमुख मतदाता अधिकारी समक्ष स्थानीय तहबाट विवरण पेश गरिने र ती सबै निवेदन विरुद्ध जाँचबुझ गरी माघ २६ गते अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ ।
धनुषामा ६ हजार बढी मतदाता थपियो
आगामी वैशाख महिनामा हुने निर्वाचनका लागि पछिल्लो निर्वाचनभन्दा धनुषामा ६ हजार ४ सय ७२ जना मतदाता थपिएका छन् ।
पछिल्लो पटक २०७४ मा जिल्लामा ४ लाख ४ हजार ६ सय ७४ मतदाता रहेकोमा अब मतदाता संख्या ४ लाख ११ हजार १ सय ४६ पुगेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top