चितवन । चितवनका वामपन्थी नेता खम्बसिंह कुँवर (काजी बा) को आज बिहान निधन भएको छ ।
विगत लामो समयदेखि बिरामी रहेका कुँवरको ९५ वर्षको उमेरमा भरतपुर अस्पतालमा निधन भएको हो । लामो समयदेखि प्रोस्टेटको समस्या झेल्दै आएका कुँवरलाई एक हप्ताअघि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पछिल्लो समयमा निमोनियासमेत भएको थियो ।
२०११ सालदेखि कम्युनिष्ट पार्टीमा लागेका कुँवरले २०२२ सालदेखि आफ्नै नेतृत्वमा चितवनबाट प्रगतिशिल पार्टीको शुरुवात गरेका थिए । पछिल्लो समय उनी नेकपाको केन्द्रीय सल्लाहकारसमेत थिए । कुँवरको शव भरतपुर–६ केशरबागमा रहेको निवासमा लगेपछि आजै अन्तिम श्रद्धाञ्जलीका लागि साविक माओवादी केन्द्रको पार्टी कार्यालय कृष्णपुरमा राखिएको छ ।
कुँवरको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । प्रचण्डले पार्टीको झण्डा ओढाई कुँवरप्रति श्रद्धाञ्जली अर्पण गरे । प्रचण्डले उनलाई राजनीतिक गुरु मान्दै आएका छन् ।
नेकपाका अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालले विज्ञप्ति निकालेर कुँवरको निधनले पार्टी र सिंगो कम्युनिष्ट आन्दोलनले अथक योद्धा गुमाएको बताएका छन् ।
प्रतिक्रिया