ताजा समाचार


प्रदेश २ को आठवटै जिल्लाका सबै क्वारेन्टाइन खाली, सप्तरी र रौतहट कोरोनामुक्त

द रियल समाचार     २०७७ माघ १२, सोमबार, १८: ४३ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ मा आठवटै जिल्लाका सबै क्वारेन्टाइनहरु खाली भएका छन् भने आइसोलेसनमा पर्सामा मात्रै एकजना भर्ना छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार यस प्रदेशमा आजसम्म ४ हजार ७ सय ५० बेड क्षमताको ९० वटा क्वारेन्टाइनहरु रहेपनि सबै खाली भएका छन् । त्यस्तै प्रदेशभरिमा ८ सय ७७ बेड क्षमताको आइसोलेसनमा पर्सामा एकजना मात्रै आइसोलेसनमा भर्ना छन् । बाँकी सबै जिल्लाका क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरु खाली रहेका छन् ।

सप्तरी जिल्लाको ३ सय ८५ बेड क्षमताको १९ वटा, सिरहाको १ सय ८५ बेड क्षमताको ८ वटा, धनुषाको ३५ बेड क्षमताको एउटा, महोत्तरीको ५० बेड क्षमताको एउटा, सर्लाहीको ४ सय २२ बेड क्षमताको ३ वटा, रौतहटको १ हजार १ सय ९० बेड क्षमताको २३ वटा, बाराको १ हजार २ सय २८ बेड क्षमताको १६ वटा र पर्साको १ हजार २ सय ५५ बेड क्षमताको १९ वटा क्वारेन्टाइनहरु खाली छन् । त्यस्तै सप्तरीमा रहेको २ सय ५०, सिरहामा १ सय, धनुषामा ४२, रौतहटमा ८४ बारामा रहेको १५ बेड क्षमताका सबै आइसोलेसनहरु पनि खाली रहेका छन् भने महोत्तरी र सर्लाहीमा आइसोलेसन सेन्टर नै छैन । पर्सामा रहेको ३ सय ८६ बेड क्षमताको आईसोलेसन सेन्टरहरु मध्ये एक ठाउँमा मात्रै एकजना भर्ना छन् ।

यस प्रदेशमा सिरहामा २६ र महोत्तरीमा ३५ गरि ६१ जना व्यक्ति होम क्वारेन्टाइनमा छन् भने सिरहामा ५, धनुषामा २२, महोत्तरीमा १३, सर्लाहीमा १०, बारामा ३ र पर्सामा ३१ गरि ८४ जना होम आईसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । प्रदेशभरीमा सोमबारसम्म सप्तरीमा २१ हजार १ सय ८१, सिरहामा १२ हजार ३ सय ७८, धनुषामा २० हजार ५ सय ६, महोत्तरीमा ८ हजार ८ सय ६, सर्लाहीमा १४ हजार ४ सय ९५, रौतहटमा २४ हजार ३ सय २२, बारामा १२ हजार ५ सय २३ र पर्सामा ३० हजार ५ सय ३३ गरि जम्मा १ लाख ४४ हजार ७ सय ४४ जनाको स्वाब परीक्षण गरिएकोमा १७ हजार १ सय ७९ जना संक्रमित भएका छन् भने १ लाख २७ हजार ४ सय ९९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ५, सिरहामा १७, धनुषामा २२, महोत्तरीमा ६ र पर्सामा १६ गरि कुल ६६ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशको रौतहट र सप्तरी जिल्ला कोरोनामुक्त भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
प्रदेश २ मा अहिलेसम्ममा सबैभन्दा बढी पर्सा जिल्लामा ३ हजार २ सय ८१ जना संक्रमित भइसकेका छन् । धनुषामा २ हजार ६ सय ६१, रौतहटमा २ हजार १ सय ६८, सर्लाहीमा २ हजार ४७, सप्तरीमा १ हजार ८ सय ३२, महोत्तरीमा १ हजार ८ सय २५, बारामा १ हजार ७ सय ८ र सिरहामा १ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ हजार ८ सय ८५ जना निको भई आ–आफ्नो घर फर्किसकेका छन् । जसमध्ये १३ हजार ९ सय ४७ पुरुष र २ हजार ९ सय ३८ महिला रहेका छन् । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ८५ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा ४० महिला र १ सय ६९ पुरुष गरि २ सय ९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ५१, सप्तरीमा ४१, सिरहामा २५, धनुषामा २५, बारामा २४, महोत्तरीमा १८, सर्लाहीमा १४, रौतहटमा १० र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

आज यस प्रदेशमा २ महिला र २ पुरुष गरि ४ जना कोरोना संक्रमित भएका छन् भने ९ जना निको भएर आ–आफ्नो घर फर्केका छन् । निको हुनेहरु मध्ये ८ पुरुष र १ महिला रहेका छन् । आज संक्रमित हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर–७ बस्ने ५७ वर्षीय एक पुरुष र पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–८ बस्ने ४० वर्षीया एक महिला, वीरगञ्ज महानगरपालिका वडा नम्बर–३ बस्ने ५५ वर्षीय एक पुरुष एवं पकहा मैनपुर गाउँपालिका वडा नम्बर–१ बस्ने ४७ वर्षीया एक महिला रहेका छन् ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top