कालिकोट । गृहमन्त्री रामबहादुर थापा बादलले संसद विघटन सम्बन्धी मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्नसक्ने बताएका छन् ।
उनले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचनको विषय अदालतको फैसलामा भरपर्ने बताए । उनले भने,‘वैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने विषय अदालतको फैसलामा भर पर्छ । सरकार भने वैशाखमा चुनाव गराउन तयारी अवस्था छ । निर्वाचन आयोग, सुरक्षा निकायले सबै तयारी गरिरहेका छन् । हामी मात्र अदालतको फैसलाका लागि कुरिरहेका छौँ । अदालतको फैसला ढिला भयो भने निर्वाचन ढिला हुन्छ होला ।’
गृहमन्त्री थापाले नेकपा दुई भागमा विभाजन भएको र हिजोको निर्वाचन आयोगको निर्णयले विगतको पार्टीलाई आधिकारिकता दिएका कारण आगामी निर्वाचनमा चुनाव चिह्न र पार्टीका विषयमा कानूनी जटिलता आउन सक्ने बताए ।
नेत्रविक्रम चन्द समूहलाई प्रशासनिक र राजनीतिक तवरबाट नियन्त्रण गर्ने राज्यको नीति भएको जनाउँदै उनले उनीहरुलाई मूल प्रवाहमा आउन समेत आग्रह गरे । निर्मला पन्तको प्रकरणमा अनुसन्धान जारी रहेको र ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने गृहमन्त्री थापाले बताए ।
प्रतिक्रिया