जनकपुरधाम । प्रदेश नम्बर २ मा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप मध्ये संघिय सरकारले प्रदेश २ सरकारलाई ३४ हजार ८०४ डोज खोप आइतबार पठाएको हो । प्रदेशको आठवटै जिल्लामा एकै दिन खोप अभियानको शुभारम्भ हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।
सोमबार मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान सुरु गर्ने निर्णय गरिएको उनले बताए । संघिय सरकारले प्रदेश २ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना विज्ञलाई समेत पठाएको छ ।
खोप अभियानको शुभारम्भ गर्न मुख्यमन्त्री राउतले वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजबाट गर्ने निर्देशक झाले जानकारी दिए ।
सप्तरी र सिरहामा लगाइने खोप विराटनगरमा स्टोर गरिएको छ भने धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा लगाइने खोप हेटौंडामा स्टोर गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भोलीसम्म ति सबै खोप आठवटै जिल्लामा पठाइसकिनेछ ।
कुन जिल्लामा कतिजनालाई खोप लगाइने ?
प्रदेश सरकारले सबभन्दा बढि धनुषामा ९ हजार १ सय ८२, पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप लगाउने बताइएको छ ।
पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ ।
प्रतिक्रिया