ताजा समाचार


दाहाल–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटायो

द रियल समाचार     २०७७ माघ ११, आईतवार, २०: १३ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई दाहाल–नेपाल समूहले पार्टीको साधारण सदस्यबाट हटाएको छ ।पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकबाट ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो । ओलीसँग सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि उनलाई साधारण सदस्यता समेत नरहनेगरी कारवाही गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले भने,‘माघ ३ गते बसेको स्थायी कमिटीले संविधान, लोकतन्त्र, जनता र पार्टीविरुद्ध गतिविधि गरेकाले साधारण सदस्यबाट किन नहटाउने भनेर ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो । नेताहरुले बालुवाटारमा पुगेर स्पष्टीकरण पत्र बुझाएका थिए । तर ओलीले जवाफ नदिएकाले केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरेर निष्काशन गर्ने निर्णय गरिएको हो ।’

स्पष्टीकरणको जवाफ नआएको र पार्टीविपरीतका क्रियाकलाप जारी राखेकाले साधारण सदस्यबाटै हटाइएको स्थायी कमिटीको बैठकपछि पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनेनित गरेको छ । अर्का उपसचिव छिट्टै थपिने प्रवक्ता श्रेष्ठले बताए ।

माघ ९ गतेको जनप्रदर्शन भव्य रुपमा सम्पन्न भएको निश्कर्ष निकाल्दै सोमबार अर्को चरणको संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय समेत गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top