ताजा समाचार


जसपा र नेपाल लोकतान्त्रिक पार्टी बीच एकता, ओलीले जनादेशको अपमान गरेको अध्यक्ष ठाकुरको आरोप

द रियल समाचार     २०७७ माघ ११, आईतवार, १७: १२ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टी नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा समुह) बीच पार्टी एकता भएको छ ।

आइतबार तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा एक कार्यक्रमको आयोजना गरि दुबै पार्टी बिच एकता घोषणा गरिएको जसपाका नेता केशव झाले जानकारी दिएका छन् ।

एकता घोषणा कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जनताले आफ्नो प्रतिनिधि ५ वर्षका लागि चुनेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षमै संसद भंग गरेर जनादेशलाई अपमान गरेको आरोप लगाए । उनले भने,‘सर्वप्रथम यो संविधान नै अपूरो छ । मधेशी, आदिवासी, जनजातीलाई संविधानमै विभेद गरिएको छ ।

प्रतिनिधिसभा विघटनको विषय अदालतमा पुगेको छ, यदि प्रतिनिधिसभा पुनःस्थापना भयो भने सत्ता कसको हातमा जान्छ ? जसले विघटन गर्यो उसकै हातमा जान्छ र त्यसपछि त्यो द्वन्द्व कायम नै रहन्छ ।’ देश ठूलो संकटको अवस्थाबाट गुज्रिरहेको बताउँदै अध्यक्ष ठाकुरले यसलाई जसपा नेपालले अवसर र चुनौती दुबै रुपमा लिनुपर्ने बताए ।

कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर प्रतिगमनको ढोका खोलेको आरोप लगाए । नेपालको राजनीति लुडोको खेल जस्तै रहेको टिप्पणी गर्दै उनले २००७ सालदेखि नै त्यस्तै हुँदै आएको र अहिले पनि त्यही खेल सुरु भएको बताए ।

अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतिर धकेल्ने प्रयास गरिरहेको बताउँदै संविधान संशोधन गराउनका लागि सबै दल एक भएर लाग्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।

तस्बिरहरु : जसपा नेता केशव झाको फेसबुक वालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top