ताजा समाचार


प्रतिनिधिसभा चुनावको तयारी सुरु, धनुषामा अभिमुखिकरण तालिमको आयोजना

द रियल समाचार     २०७७ माघ ११, आईतवार, १४: ४३ मा प्रकाशित




जनकपुरधाम । आगामी बैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधिसभाको चुनावलाई दृष्टिगत गर्दै धनुषा जिल्लामा तयारी सुरु गरिएको छ ।
यसैक्रममा जिल्ला निर्वाचन कार्यालय धनुषाले मतदाता नामावली अद्यावधिक गर्ने सहायक नाम दर्ता अधिकारीहरु तोक्नका लागि अभिमुखिकरण तालिमको आयोजना गरेको छ । अधिकारी चयनका लागि धनुषा जिल्लाका १८ वटै पालिकाहरुबाट एक/एक जनालाई सहभागी गराई एकदिने तालिम दिइएको छ ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सहायक अधिकारीहरु सहित निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीहरुलाई दलका नेता तथा सेवाग्राही मतदातासँग संयमित र मधुर व्यवहार गरेर छिटोछरितो सेवा प्रवाह गर्न आग्रह गरेका थिए । उनले यसअघि एक चरणको मतदान केन्द्र सम्बन्धमा दलहरूसँग छलफल गरिसकिएको समेत जानकारी दिए ।

मतदाता नामावली अद्यावधिक गर्ने काम समेत सुरु भएको छ । मतदान केन्द्र निर्धारण सम्बन्धी छलफल कार्यक्रममा मतदानस्थलको विषयमा छलफल भएको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले पनि चुनावका लागि सुरक्षा रणनीति बनाउन थालेका छन् । निर्वाचनका लागि मतदान केन्द्रको वर्गीकरण गरेर सोही अनुसारको सुरक्षा योजना बनाउने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन वर्गमा वर्गीकृत गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाउने विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा छलफल भएको हो । नेपाल सरकारले प्रतिनिधिसभा चुनावको घोषणा गरेपछि जिल्लामा चुनावको तयारीलाई निरन्तरता दिइएको बताइएको छ ।

सर्वोच्च अदालतको फैसलापछि हुनसक्ने सम्भावित आन्दोलनको अवस्थालाई सुरक्षा निकायले विश्लेषण गरी धनुषा जिल्लामा सुरक्षा रणनीति बनाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । निर्वाचन आयोगले माघ १५ देखि २१ गतेसम्म देशभरका सम्पूर्ण स्थानीय तहका केन्द्रहरुमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उक्त कार्यक्रम अनुसार माघ १५ गते नगरपालिका तथा गाउँपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।आयोगले माघ १६ देखि १८ गतेसम्म मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउन, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनका लागि सूचना दिन सकिने उल्लेख गरेको छ ।

यदि कसैले झुट्ठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा माघ १६ र १७ मा उजुरी दिन सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top