जनकपुरधाम । मैथिली विकास कोषद्वारा आज (शनिबार) देखि मासिक मैथिली कवि गोष्ठीको शुरुवात गरिएको छ ।
कवि गोष्ठी कार्यक्रमको उदघाटन गर्दै वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलले मैथिली साहित्यको क्षेत्रमा नयाँ प्रतिभाहरूको पहिचान गर्नका लागि यस्ता प्रकारका कवि गोष्ठीहरु महत्वपूर्ण हुने बताए । उनले मैथिली भाषा एवं साहित्यको विकासका लागि यस्ता प्रकारको कवि गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनले भने,‘भाषा साहित्यलाई जनजनको भाषा बनाउनका लागि कवि गोष्ठी महत्वपूर्ण माध्यम हुन्छ । कोषले यस्ता प्रकारको सिर्जनात्मक काम गरेर सराहनीय काम गरेको छ ।’
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रोशन जनकपुरी, मिथिला नाट्यकला परिषद्का पूर्व अध्यक्ष सुनिल मल्लिक, पूर्व सांसद महेन्द्र कुमार मिश्र, कवियत्री पुनम झालगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा देबीकान्त मिश्र, नरेश ठाकुर, नवीन मिश्र, काशिकान्त झा, पुनम झा मैथिल, मोति झा, रुद्र कुमार झा, बिजय दत्त मणि, राजेन्द्र ललन, प्रेम बिदेह ललन, सपना झालगायतका दर्जनौं कवि तथा कवियत्रीहरूले समसामयिक अवस्थालाई चित्रण गरेर आ–आफ्नो कविता वाचन गरेका थिए ।
मैथिली विकास कोषले अबदेखि प्रत्येक महिना एउटा कथा र कवि गोष्ठी आयोजना गर्ने कोषका अध्यक्ष जिवनाथ चौधरीले जानकारी दिए । उनले महिनाको दोस्रो शनिबार कवि गोष्ठी र अन्तिम शनिबार कथा गोष्ठी आयोजना गरिने बताए । कवि गोष्ठीको संयोजक कवियत्री पूनम झा मैथिली र कथा गोष्ठीको संयोजक पत्रकार एवं साहित्यकार सुजित झा रहेका छन् ।
प्रतिक्रिया