ताजा समाचार


राज्यको हरेक निकायमा पिछडावर्गको राजनीतिक प्रतिनिधित्व आवश्यक : मन्त्री साह

द रियल समाचार     २०७७ माघ १०, शनिबार, १९: १३ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ का भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले पिछडावर्गले राज्यको हरेक निकायको हरेका अंगमा राजनीतिक प्रतिनिधित्व पाउनुपर्ने माग गरेका छन् ।

जनकपुरधाममा आज आयोजित पिछडावर्ग महासभाको राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री साहले राज्य अन्धो र बहिरो रहेकोले राज्यलाई दबाब दिन संविधानमा उल्लेख गरिएको अधिकारलाई कार्यान्वयन गराउनका लागि पिछडावर्गहरु एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने,‘विगतमा मुलुकमा भएको विभिन्न चरणको आन्दोलनको उपलब्धि रुवरुप आज हामीले संघिय लोकतान्त्रिक गणतन्त्र पाएका छौं । त्यसैले यो उपलब्धीलाई अब संस्थागत गर्नुपर्दछ । राजनीतिक परिवर्तनका साथै सामाजिक परिवर्तन हुन नसकेकोले राजनीतिक उपलब्धी जनताले महशुस गर्न सकेका छैनन् ।’

उनले राजनीतिक परिवर्तनका साथै सामाजिक परिवर्तन हुन नसकेकोले देशमा पिछडावर्गहरु अहिले हरेक दृष्टिकोणले पछाडी परेको बताए । प्रदेश २ सरकारको मन्त्रीमण्डलका सबै मन्त्रीहरु पिछडावर्गबाटै प्रतिनिधित्व गरिरहेको बताउँदै मन्त्री साहले संविधानमा उल्लेख गरिएको अधिकारलाई कार्यान्वयन गराउन सबैलाई संगठित हुन आह्वान समेत गरे ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले पिछडावर्गको अधिकार दिलाउन प्रदेश पछाडी नहट्ने प्रतिबद्धता जनाए । उनले राज्यबाट उपेक्षित भएका समुदायलाई अधिकार दिलाउन प्रदेश सरकार हरसम्भव प्रयासरत रहने बताए ।

कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य मिरा कुमारी साह, पिछडावर्ग महासभाका संस्थापक अध्यक्ष भरत प्रसाद महतो, राष्ट्रिय अध्यक्ष रामकुमार महतोलगायतका वक्ताहरुले समेत आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top