काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनको रोहबरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई बीच गोप्य भेटवार्ता भएको छ ।
शुक्रबार लैनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा उपराष्ट्रपति पुनको रोहबरमा भएको भेटमा संसद विघटन विरुद्धको आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणको विषयमा समेत उनीहरुबिच छलफल भएको स्रोतले जनाएको छ ।
सबै कम्युनिष्टलाई एकीकरण गर्ने अभियानमा लागेका अध्यक्ष प्रचण्डले भट्टराईसँग छलफल गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी तथा नेकपा दाहाल-नेपाल समूह निरन्तर आन्दोलनमा छ ।
संसद विघटन विरुद्धको आन्दोलनमा कार्यगत एकता गर्नुका साथै पार्टी एकीकरण गर्ने विषयमा उनीहरुबिच छलफल भएको बताइएको छ । नेताद्वय प्रचण्ड र भट्टराईबिच भएको कुराकानीलाई आ-आफ्नो पार्टीमा समेत छलफल गरिने र त्यसपछि पुनः वार्तालाई अगाडि बढाइने सहमति भएको बताइएको छ ।
प्रतिक्रिया