जनकपुरधाम । भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोप माघ १४ गतेदेखि लगाउन सुरु गर्ने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धका खोप लगाउन सुरु गर्ने जानकारी दिए ।
उनले भने,‘मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुवात भइसकेको छ र हामी नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’ मा पुगिसकेका छौं ।’ पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन उनले आग्रह समेत गरे ।
सरकारले पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रणका लागि अग्र भागमा रहेर काम गर्नेलाई खोप लगाउने तयारी गरेको छ । सुरूमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ । यस्तो संख्या करिव ४ लाखको हाराहारीमा रहेको सरकारी तथ्यांक छ ।
प्रतिक्रिया