सर्लाही । उखु किसानले चिनी मिलहरुलाई उखु दिन छाडेपछि मिलहरु कठिनाइमा परेको अवस्थालाई दृष्टिगत गर्दै सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी मिलले उखु किसानको यसवर्षको सम्पूर्ण रकम भुक्तानी गरेको छ ।
मिलले चालु सिजनको भुक्तानी तिरेपछि किसानहरु खुशी भएका छन् । भुक्तानीमा खासै झन्झट नबेहोरेको इन्दुशंकर मिलले गत वर्षको मूल्यलाई आधार मानेर यस वर्ष उखु खरिद गरेको थियो । गत पुस ६ गतेबाट सञ्चालनमा आएको मिलले माघ २ गतेसम्म करिब ७ लाख १६ हजार २ सय क्विन्टल उखु क्रसिङ्ग गरिसकेको उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए ।
गत पुष १५ गतेसम्मको उखु खरिदवापत माघ ३ गते करिब १२ करोड रुपैयाँ भुक्तानी गरेको र पुस २९ गतेसम्म उखु खरिद गरेवापत किसानलाई तिर्न बाँकी रहेको सम्पूर्ण रकम बिहीबार चुक्ता गरिएको नेपालले बताए ।उद्योगले किसानलाई दुई पटक १२/१२ करोड र एक पटक ८ करोड गरी तीन पटकमा जम्मा ३२ करोड भुक्तानी गरिसकेको जनाएको छ ।
सरकारले मूल्य निर्धारण गरेपछि किसानलाई भुक्तानी गर्नुपर्ने थप रकम समेत खातामा पठाइने उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत नेपालले प्रतिबद्धता जनाए ।
प्रतिक्रिया