हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको छ । अविश्वासका प्रस्तावमा पौडेललाई पदमुक्त गरी मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव गरिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री पदबाट राजीनामा दिएका अरुणप्रसाद नेपालले आज मुख्यमन्त्री पौडेलबिरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् । यसअघि पुस १० गते ३ जना मन्त्रीसहित सत्तापक्षका ४५ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
बैठकमा निवर्तमान मन्त्री नेपाललाई सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्न समय दिएका थिए । निवर्तमान मन्त्री नेपालले अविश्वास प्रस्ताव प्रस्तुत गर्दै कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारले कुनै भूमिका खेल्न नसकेको, समाजवादउन्मुख काम गर्न नसकेको, अपराध न्यूनीकरण, महँगी नियन्त्रणलगायत काममा ध्यान नपुर्याएको र गरीबी नियन्त्रणमा काम गर्न नसकेको आरोप लगाएका थिए ।
अविश्वासको प्रस्ताव प्रस्तुत गरिएसँगै प्रदेशसभाको बैठक माघ १९ गते सम्मका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया