ताजा समाचार


बर्दीमै तास खेल्ने १४ प्रहरी कर्मचारी कारवाहीमा

द रियल समाचार     २०७७ माघ ९, शुक्रबार, १२: ०० मा प्रकाशित




जनकपुरधाम । सर्लाहीस्थित इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमा तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको नियम १०९ को खण्ड (क) (७) बमोजिम १४ प्रहरी कर्मचारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

बर्दी लगाएर प्रहरीले तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि सो विषयमा छानबिन अघि बढाइएको थियो । छानबिनपछि ६ प्रहरी जवान, २ प्रहरी हवल्दार र २ प्रहरी सहायक निरीक्षकलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कारवाहीमा पर्नेहरुमा प्रहरी जवान मोहन थापा, अर्जुनकुमार सिंह, राजकिशोर भण्डारी, गीता चौधरी र सन्तोषकुमार यादवको खाइपाइ आएको सुरुको तलबमा घटुवा गरिएको छ ।

त्यसैगरी प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद यादव र राजकुमार साहका साथै प्रहरी हवल्दार महेशप्रसाद यादव, रामबाबु साह र प्रहरी जवान जीतनारायण रायलाई पहिलोपटक नसिहत दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । त्यस्तै प्रहरी जवान सञ्जयकुमार साह र तिलबहादुर मगरलाई सख्त चेतावनी दिइएको सर्लाही प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीमा कार्यरत प्रहरी हवल्दार पुष्पजङ्ग कार्की र अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीमा कार्यरत प्रहरी जवान नवराज खड्कालाई पनि कारवाही गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top