ताजा समाचार


संसद विघटनको विरोधमा काँग्रेसद्धारा आज वडास्तरमा विरोध प्रदर्शन

द रियल समाचार     २०७७ माघ ८, बिहीबार, १७: ३७ मा प्रकाशित




जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा नेपाली काँग्रेसले आज देशभर वडास्तरमा विरोध प्रदर्शन गरेको छ ।

देशभरका ६ हजार ७ सय ४३ वटै वडाहरुमा काँग्रेसले आज विरोध प्रदर्शन गरेको हो । काँग्रेसले प्रदेश नम्बर–१ को १४ जिल्लाका १३७ स्थानीय तहहरुको १ हजार १५७, प्रदेश नम्बर–२ को ८ जिल्लाका १३६ स्थानीय तहहरुको १ हजार २७१, बागमती प्रदेशको १३ जिल्लाका ११९ स्थानीय तहहरुको १ हजार १२१, गण्डकी प्रदेशको ११ जिल्लाका ८५ स्थानीय तहहरुको ७५९, लुम्बिनी प्रदेशको १२ जिल्लाका १०९ स्थानीय तहहरुको ९८३, कर्णाली प्रदेशको १० जिल्लाका ७९ स्थानीय तहहरुको ७१८ र सुदुरपश्चिम प्रदेशको ९ जिल्लाका ८८ स्थानीय तहहरुको ७३४ गरि देशभरका ६ हजार ७४३ वटै वडामा आज विरोध प्रदर्शन गरेको हो ।


प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका थिए । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ मा संसद विघटन गरेपछि यसविरुद्ध नेकपा ओली समूहबाहेकका राजनीतिक दलहरु निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।


नेपाली काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र तथा माघ ३ गते ७५३ वटै पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो ।

तस्बिर सौजन्य : तरुण दल धनुषाका उपसभापति राकेशविक्रम साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top