ताजा समाचार


भारतले दिएको १० लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल आयो

द रियल समाचार     २०७७ माघ ८, बिहीबार, १५: १९ मा प्रकाशित




जनकपुरधाम । भारत सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको ‘कोभिसिल्ड’ खोप राजधानी काठमाण्डौ आइपुगेको छ । भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित १० लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाललाई भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको हो ।

खोप लिएर आएको एयर इण्डियाको जहाज बिहान ११ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे । त्रिभुवन विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा राखिएको सो खोप टेकुस्थित केन्द्रिय भ्याक्सिन स्टोरमा राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राखिने उक्त खोप ५ दिनभित्र ७ वटै प्रदेशका भ्याक्सिन आपूर्ती केन्द्रमा पठाइने स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ ।

खोप शाखा प्रमुख एवं खोपविज्ञ डा.झलक शर्मा गौतमका अनुसार ‘कोभिसिल्ड’ लाई उपत्यकासहित विराटनगर, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा कोल्ड स्टोर राखिनेछ । उक्त खोपको प्रभावकारिता औसतमा ७०.४ प्रतिशत रहेको पाइएको छ । खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइसकिएको पनि गौतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले भने खोप जिल्ला पुगेपछि एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरिएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ७७ जिल्लामै एकै साथ खोप अभियान सुरु हुनेछ । सुरूमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ । यस्तो संख्या करिव ४ लाख हाराहारी रहेको सरकारी तथ्यांक छ ।

अनुदानमा आएको खोपको प्रभावकारितालाई विचार गर्दै सरकारले बाँकी खोप खरिद गर्ने जनाएको छ । नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारी योजना पुरा हुन ५ करोड डोज खोप चाहिने विशेषज्ञहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top