जनकपुरधाम । जननायक विशेश्वरप्रसाद कोईरालाका प्रमुख सहयोद्धा महान् क्रान्तिकारी स्वतन्त्रता सेनानी स्व. निर्गुण यादवको सातौं स्मृति दिवस उनको पैतृक गााउँ धनुषाको नरैहियामा मनाइएको छ ।
नेपाली कांग्रेस धनुषाद्धारा आयोजना गरिएको सो कार्यक्रममा स्व. निर्गुण यादवका सहयात्री नेपाल स्वतन्त्रता सेनानी संघका संस्थापक वरिष्ठ पत्रकार राजेश्वर नेपालीले वि.सं.१९७२ सालमा जन्मेका र वि.सं.२०७० साल माघ महिनामा स्वर्गीय भएका २००७ सालका सशस्त्र क्रान्तिका प्रमुख योद्धा निर्गुण यादवले निरंकुश राणा र क्रुर राजतन्त्र व्यवस्थाको विरोधमा बन्दूक र बारुदसहित युद्ध छेड्न सयौं बटालियन तयार पारेर निरंकुशताबाट मुक्ति प्राप्तिका लागि घनघोर क्रान्ति मचाएर नेपाली जनतालाई स्वतन्त्रता दिलाएकाले उनको योगदानको कदर स्वरुप सरकारले देशमा उनको नाममा विद्यालय, राजमार्ग, शालिक निर्माण लगायतका अविस्मरणीय कृतिहरु ठड्याउनु अपरिहार्य भएको बताए ।
नेपालीले स्व.यादवले वि.सं.२०१७ सालमा राजा महेन्द्रको पुत्ला दहन गरेपछि राजाले निर्गुणको जीउंदो वा मरेको लाशसम्म बरामद गर्नेलाई त्यस बखत ५ हजार नगद पुरस्कारको घोषणा गरेको बावजुद निर्गुण पक्राउ नपरेर झन आक्रामक रुपमा आक्रमणका पाईलाहरु अगाडि सारेको वृतान्त प्रस्तुत गरेका छन् ।
सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामकृष्ण यादवले स्व. योद्धाको योगदानलाई आजका पीढिले मार्गदर्शनको रुपमा लिन र राष्ट्रले उनको नाममा कृतिहरुको नामाकरण गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस धनुषाका उपसभापति संन्तोषकुमार यादव, पूर्व केन्द्रिय सदस्य भोला चौधरी, पार्टीका सूचना तथा सञ्चार विभागका सदस्य प्रफूल्लराज घिमिरे, नेपाल प्रेस यूनियनका पूर्व केन्द्रिय सदस्य श्रीनारायण साह, औरही गाउँपालिकाका प्रमुख ब्रह्मदेव यादव, वडाध्यक्ष अशेश्वर यादव, जिल्ला सदस्य भूपनारायण यादव, राप्रपाका केन्द्रिय सदस्य नथुनीलाल दास लगायतका वक्ताहरुले मुक्तकण्ठले स्व.निर्गुण यादवको क्रान्तिकारी योगदानलाई कदापि नबिर्सिने बताए ।
प्रतिक्रिया